निर्वाचन मधेसको हितमा नरहेको सिके राउतको निष्कर्ष

ललिता साह, सप्तरी । फागुन २१ को प्रतिनिधि सभा निर्वाचन मधेश आन्दोलनको हितमा नरहेको सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त (सीके ) राउतले बताएका छन् । सप्तरीको राजविराजमा पत्रकारसँग भेटघाट गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

“देश नै नरहने आशंकाका मोडमा गरिएका अभ्यास हरुमध्येको एक नाटक मंचनको रूपमा यो निर्वाचन मधेश आन्दोलनको लागि हितकर होइन ।” उनले भने, “मधेशवादी दलले मिलेर यो निर्वाचन बहिष्कार गर्नुपर्नेथ्यो तर, सबैसँग विचारको एकमत हुन नसकेर तथा लोकतान्त्रिक अभ्यासको क्रममा हामी जिम्मेवार हुनपर्ने भएकाले पनि निर्वाचनमा सहभागी भएका हौ।”

संसदलाई सरकार चलाउने थप जिम्मेवारीले उनीहरुको लोकप्रियता गुम्दै गएको आफ्नो अनुभव उनले सुनाए । उनले भने – “सांसदलाई नीति निर्माण गर्न मात्र लगाउनुपर्छ ।”

 सिडिओ , एसपि केन्द्रले तोक्ने भएकोले प्रदेश सरकार नाम मात्रको भएको उनको भनाइ छ । प्रदेशको मुख्य मन्त्रीले स्वतन्त्र काम गर्न वातावरण बनाउनुपर्ने उनले बताए ।

नौलो गणतन्त्र, स्वायतता लगायत विभिन्न १ २ वटा बुँदे एजेण्डामा रहेर मधेश केन्द्रित दललाई राजनिति गर्न उनले सुझाव दिएका छन् ।

नौलो गणतन्त्रको अभ्यास अन्तर्गत नेपालमा संसदलाई नीति निर्माण गर्न जितेर पठाउ र विज्ञहरुबाट सरकार चलाउने अभ्यासको थालनी गर्न उनले जोड दिए।

यो परिपाटीले राजनीति र संसदहरूप्रति बढ्दै गएको आम सर्वसाधारणको वितृष्णा र आलोचना घट्ने उनको तर्क छ। “तथापि वर्षौदेखि ठग्दै आएका नेताहरुको कारण अब जो आए नि यस्तै हो भन्ने वितृष्णा जनमानसमा छ त्यसलाई हटाउन वर्षौ लाग्छ ।” उनले भने ।

संघीयताले देशमा अभूतपूर्व विकास भएको सत्यलाई नकार्न नहुने उनको जिकिर छ । पछिल्लो विद्रोह संघीयता महँगो भयो यसलाई खारेज गर्नुपर्छ भनि आम नेपालीमा बनाएको गलत भाष्यको परिणाम भएको उनले बताए ।

“अब पनि हामी कसैले मत लिनकै लागि देश धरापमा पार्ने कुनै पनि एजेण्डामा सहमत हुन हुदैन ।” उनले भने ।