लोपोन्मुख हुक्कापाती

सप्तरी । दीपावलीमा देखिने ‘हुक्कापाती’ अहिले लोप हुन थालेको छ। तर, परम्परालाई जोगाउन कतिपय ग्रामीण महिलाहरू अझै पनि सनपाटबाट बनेको हुक्कापाती बोकेर गाउँ-गाउँदेखि शहरसम्म हिँडिरहेका छन्।

राजविराजका गल्ली–गल्लीमा “हुक्कापाती लिई आए” भन्दै हल्ला गर्दै हिँड्ने महिलाहरू यो वर्ष पनि देखिए । तीमध्ये मंसापुरकी ललिता रामले लक्ष्मीपूजको विहान नौ बजेसम्ममा झन्डै दुई हजार रुपैयाँको हुक्कापाती बेचिसकेकी थिइन्। उनका अनुसार, “पर्व आउनु अघि नै हुक्कापातीको माग बढ्छ। अहिले सहरका मानिस पनि यसलाई किनेर घर सजाउँछन्।”

पहिले–पहिले गाउँघरमा हुक्कापाती आफ्नै घरमा बनाइन्थ्यो। सन्तु चौधरी वर्ष ८७ भन्छन्, “हामीले सन्ठी काटेर, माटो मिसाएर आफैं बनाउँथ्यौं। आफ्नै हातको बनाएको हुक्कापातीले लक्ष्मी पूजाको स्वाद फरक हुन्थ्यो। अहिले त बजारमा सबै किन्ने चलन भयो।”

त्यस्तै, रुपनी–३ की खैकी इसर (८०) पुरानो चलन हराउँदै गएकोमा चिन्ता व्यक्त गर्छिन्। उनले भनिन्, “पहिले गाउँकै बाटोमा माटो, गोबर, सनपाट सबै पाइन्थ्यो। अहिले घरघरमा बेच्न आइरहेको देख्दा अचम्म लाग्छ।”

मधेसका समुदायमा लक्ष्मीपूजाको साँझ कूलदेवताका अगाडि सनपाटबाट बनेको हुक्कापातीमा आगो बाल्ने परम्परा छ। यसरी ‘उक फेर्ने’ चलनले दुःख–कष्ट जलाएर समृद्धि ल्याउने विश्वास रहिआएको छ। त्यसपछि घर अगाडि दीप बाल्ने, पटाका पड्काउने र भोलिपल्ट देउसीभैलो खेल्ने परम्परा पनि छ।

खड्क–४ की ९४ वर्षकी कुसमी देवी भन्छिन्, “अब त फूलदेखि माटो र गाईको गोबर पनि बजारमा किनिने वस्तु बनेका छन्। साँच्चै समय बदलियो।”

बढ्दो शहरीकरण र आधुनिक जीवनशैलीबीच पनि ललिता रामजस्ता महिलाहरूको प्रयासले पुरानो सांस्कृतिक चलन ‘हुक्कापाती’ अझै पनि जीवित छ भन्ने सन्देश दिइरहेको छ।

“हुक्कापाती” शब्द “हुक्का” (धुम्रपान गर्ने भाँडो) र “पाती” (कागज वा पातमा लेखिएको केही कुरा) बाट बनेको हो। पुरानो समयमा गाउँका महिलाहरूले हुक्काको आकारमा सुक्खा घाँस, सनपाट, कागज आदिबाट खेलौना बनाउने गर्थे र त्यसलाई “हुक्कापाती” भनिन्थ्यो।

तिहारको विशेषगरी लक्ष्मीपूजाको दिन, गाउँघरमा महिलाहरू समूह बनाई घरघर घुम्दै “हुक्कापाती बेच्न आए हजुर” भन्दै गीत गाउँछन्। यो व्यवहार वास्तवमा व्यापार मात्र होइन, रमाइलो, शुभकामना र मेलमिलापको प्रतीक पनि हो।