भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रलाई सबल बनाउन, आर्थिक विकास र नागरिकको अधिकार सुनिश्चित गर्न भयरहित रूपमा जनताले मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिले बुधबार आयोजना गरेको कार्यक्रममा साख्वा: को प्रतिमामा मल्यार्पण गर्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र रूपमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको प्रष्ट पारेकी हुन् ।
उनका अनुसार, नेपालको संविधानले तोकेको ढाँचामा सबै वर्ग र समूहको आवाज सुन्ने र सेवा प्रवाह गर्ने जिम्मेवारी सरकारले पाएको छ। निष्पक्ष निर्वाचनका लागि राजनीतिक दल र समाजका सबै वर्गको सहयोग आवश्यक रहने उनले बताइन्।
“जेनजी आन्दोलनको बलमा नागरिक सरकार गठन भएको छ र यो सरकारले संविधानअनुसार सबैको आवाज सम्बोधन गर्छ।” उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले शंखधर साख्वाःले देखाएको श्रम, समानता र आत्मनिर्भरताको बाटोमा देश लाग्नुपर्नेमा जोड दिदै सबैलाई व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठी राष्ट्रिय हितमा काम गर्न आग्रह गरिन ।
मौलिक नयाँ वर्षको रूपमा मानिने नेपाल सम्वत् ११४६ आज देशभर विविध सांस्कृतिक कार्यक्रमहरूका साथ मनाइँदैछ। विशेषगरी नेवार समुदायले यस दिनलाई नयाँ वर्षको रूपमा उल्लासपूर्वक मनाउने गर्दछन ।
नेपाल सम्वतको सुरुवात राष्ट्रिय विभूति शंखधर साख्वा:ले वि.सं. ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी गरेका थिए। उनी सामाजिक न्याय, समता र मानवसेवाका प्रतीकका रूपमा चिनिन्छन्।







