पत्रकारलाई थप जिम्मेवार बनाउन मधेश प्रदेशमा प्रशिक्षक प्रशिक्षण

जनकपुरधाम ।  सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना रोक्न तथा पत्रकारलाई पेशाप्रति थप जिम्मेवार बनाउन नेपाल पत्रकार महासंघले विहीवार मधेश प्रदेशको जनकपुरधाममा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ ।

पछिल्लो समयमा सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले सहकार्य गरी “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम मधेश प्रदेशका ८ वटै जिल्लाका पत्रकारलाई प्रदान गरेको हो ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको संयोजन र जिल्ला शाखा धनुषाको समन्वयमा प्रशिक्षण कार्यक्रम सफल गरिएको प्रदेश अध्यक्ष श्याम बन्जाराले बताएका छन्।

सञ्चारमाध्यमको विश्वसनीयता कायम राख्न र पत्रकारलाई सामाजिक सञ्जाल प्रयोगमा जिम्मेवार बताउन तालिमको आयोजना गरिएको महासंघकी अध्यक्ष निर्मला शर्माले बताएकी छन् ।

समाचारको निष्पक्षता र विश्वसनीयताका लागि पत्रकारहरुले जिम्मेवारपूर्वक पत्रकार आचारसंहिता पालना गर्नुपर्ने बताउँदै नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाल , कोषाध्यक्ष रामकृष्ण अधिकारी, सचिव अशोक तिवारी सदस्य ललिता साह लगायतले प्रशिक्षक प्रशिक्षणको सहजीकरण गरेको धनुषा शाखा अध्यक्ष पुरन गुप्ताले जानकारी दिए ।

प्रशिक्षकहरुले यो प्रशिक्षण पश्चात महासंघको देशैभरी रहेका आफ्ना शाखामार्फत समेत पत्रकारहरुलाई जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग गर्ने बारेमा अभिमुखीकरण प्रदान गर्न सुझाएका छन् ।
तालिममा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति सदस्य, मधेश प्रदेशका अध्यक्ष पदाधिकारी तथा सप्तरी, सिराहा ,महोत्तरी, धनुषा , बारा, पर्सा, सर्लाही र रौतहटका जिल्ला अध्यक्षहरुको अलावा मधेशमा लामो समयदेखि सञ्चारमाध्यमहरूमा काम गर्दै आएका ४ दर्जन पत्रकारहरुको सहभागीता रहेको नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य राजेश कर्णले जानकारी गराएका छन् ।