शीतलहरले जनजीवन दयनीय, तीन तहको सरकार हुँदाहुँदै दाताको मुख ताक्न बाध्य

sitlahar

ललिता साह, मधेस प्रदेश । पुस लागेसँगै सप्तरीसहित मधेश र लुम्बिनी प्रदेशमा कठ्याङ्ग्रिँदो चिसो बढेको छ। पछिल्ला दुई सातादेखि लगातार चलेको शीतलहरले जनजीवन प्रभावित बनेको छ।

गत वर्ष पुस सकिन लाग्दा मात्र जाडो प्रवेश गरेको थियो। तर यो वर्ष पुस लाग्नुअघि नै शीतलहर सुरु भएको छ। अत्यधिक चिसोका कारण विपन्न समुदायका सयौँ बालबालिकाले विद्यालय जान छाडेका छन्।

चिसो बढेपछि सप्तरीको बोदेबर्साइन नगरपालिकाले पाँच दिनका लागि सबै विद्यालय बन्द गरेको छ। नगरपालिकाले बुधबारदेखि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको हो।

अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहज भएकाले हालको अवस्थालाई ध्यानमा राख्दै विद्यालय बन्द गरिएको नगरप्रमुख आतेशकुमार सिंहले बताए।

बिहान–बेलुका लाग्ने बाक्लो हुस्सु र चिसो हावाका कारण बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिला तथा पशुचौपाया प्रभावित बनेका छन्।

राजविराज–१ की अभिभावक रुक्साना खातुन चार छोरीलाई राजविराजकै सरकारी विद्यालयमा पढाउँदै आएकी छन्। मजदुरी गरेर जेनतेन परिवार पाल्दै आएकी खातुनले चिसो लागेमा उपचार कहाँबाट गर्ने भन्ने चिन्ता व्यक्त गरिन्। घरमा न्यानो कपडाको अभाव र बाक्लो हुस्सुका कारण एक हप्तादेखि छोरी फतमा, तबसुम र नग्मालाई विद्यालय जानबाट रोकेको उनले बताइन्।

सप्तरीमा शीतलहरसँगै बढेको चिसोले साना बालबालिकालाई विद्यालय जान कठिनाइ भइरहेको स्थानीय तहका प्रमुखहरू बताउँछन्। उनीहरूका अनुसार विपन्न नागरिकलाई दाउरा र सीमित लुगाफाटा वितरण गरिएको छ भने विपद् व्यवस्थापन टोली परिचालन गरी टोलटोलमा सचेतनामूलक सूचना दिइँदै आएको छ।

मौसमको अवस्था अझै एक–दुई दिन यस्तै रहे विद्यालय बिदा दिने विषयमा अभिभावक र प्रधानाध्यापकसँग छलफल भइरहेको अग्निसाइर कृष्णा सवरन गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कल्पना चौधरीले बताइन्।

रुपनी–२ स्थित बुधेश्वर आधारभूत विद्यालयमा चिसोका कारण विद्यार्थी नआएपछि विद्यालय नै बन्द गर्नुपरेको त्यहाँकी एक शिक्षिकाले बताइन्।

शिक्षक संघ सप्तरीका शैलेन्द्र मण्डलका अनुसार बोदेबर्साइन, शम्भुनाथ, तिलाठी कोइलाडी, राजगढ, बलान बिहुल, खडक, हनुमाननगर र सुरुङ्गा लगायतका क्षेत्रमा विपन्न परिवारका सयौँ बालबालिका शीतलहरकै कारण पुस–माघमा विद्यालय छाड्ने गरेका छन्।

कतिपय विद्यालयमा कक्षापिच्छे १०–३० विद्यार्थीको ठाउँमा दुईदेखि पाँच जना मात्र उपस्थित हुने गरेको छ। विद्यार्थी नै नआएपछि पढाउने मन नलाग्ने र घाम तापेर बस्नुपर्ने अवस्था आएको दलित राष्ट्रिय आधारभूत विद्यालयकी एक शिक्षिकाले गुनासो गरिन्।

कक्षा पहिलोकी विद्यार्थी काजल अन्य महिनामा विद्यालय नछाड्ने भए पनि जाडोमा अभिभावकको आदेशमा विद्यालय आउन पाउँदिनन्। यसरी केही दिन विद्यालय छुट्दा पढाइको अभ्यास बिग्रने र राम्रो विद्यार्थी कमजोर बन्दै जाने समस्या देखिएको मावि कट्टीका प्रधानाध्यापक नवीन झाले बताए। यसले विशेषगरी किशोरीहरू विद्यालय छाड्ने जोखिम बढाएको उनको भनाइ छ।

विष्णुपुर–६ की कोसिला सरदारले न्यानो कपडाको अभावले छोरीहरूलाई विद्यालय जान नदिएको बताइन्। स्थानीय तहका प्रमुखहरूले दाउराको व्यवस्था गरे पनि न्यानो कपडा वितरण गर्न नसकेको स्वीकार गरेका छन्।

तयारीबारे के भन्छन् प्रमुख जिल्ला अधिकारी ?
दुई सातादेखि बढेको शीतलहरले जनजीवन प्रभावित भए पनि स्थानीय तह र राजनीतिक दलले अपेक्षित चासो नदेखाएको गुनासो छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार बजेट अभावका कारण राहत व्यवस्थापन कठिन बनेको छ।

उनका अनुसार पहिले संघीय गृह मन्त्रालयमार्फत आवश्यकता अनुसार सहयोग माग्ने चलन भए पनि कार्यविधि परिवर्तनपछि सम्पूर्ण अधिकार स्थानीय तहमा गइसकेको छ। प्रशासनको भूमिका समन्वयमा सीमित रहेको उनले बताए। प्रदेश सरकारले आश्वासन मात्रै दिएको भन्दै उनले अति प्रभावित विपन्न समुदायलाई शीतलहरबाट जोगाउन एनजीओ तथा दाता संस्थासँग सहयोगको अपिल गरेका छन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार दुई सातादेखि चिसो बढे पनि सोमबारदेखि शीतलहर नै चलेको छ। यसबाट करिब ३ हजार ५ सय घरपरिवार प्रभावित हुन सक्ने प्रहरीको अनुमान छ। प्रदेश सरकारले पाँच हजार थान कम्बल खरिद गर्ने आश्वासन दिएको र स्थानीय तहले दाउरा वितरण गरिरहेको उनले जानकारी दिए।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पिप्रालगायतका पालिकामा स्थानीय एनजीओ–आईएनजीओले राहत वितरण गरिरहेका छन् भने स्थानीय तह पनि सक्रिय रहेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै थप तयारी अवस्थामा बसेको उनले बताए।