निर्वाचनका लागि ललितपुरमा काङ्ग्रेसका ३१ उम्मेदवार सिफारिस

congress flag

ललितपुर । नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ३१ जनाको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको बिहिवार बसेको वैठकको निर्णयले ललितपुरका तीन वटै क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका नामहरुलाई सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको जिल्ला प्रवक्ता सन्तोष कुमार केसीले जानकारी दिए ।

प्रवक्ता केसीले दिएको जानकारी अनुसार क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्यद्वय मदनबहादुर अमात्य र धना खतिवडा, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, क्षेत्रीय सभापति महेश्वर थापा र बागमती प्रदेश सदस्य राजीव पौडेलको नाम क्षेत्रीय समितिले सिफारिस गरेको छ।

त्यस्तै समानुपातिकतर्फ महासमिति सदस्यद्वय गीता सत्याल र मोदती केसी, महिला संघको केन्द्रीय सदस्य निरु खड्का, महाधिवेशन प्रतिनिधि राजेन्द्रराज पौडेलका साथै प्रमिला महर्जन र रेणु दुलालको नाम सिफारिस भइ आएको प्रवक्ता केसीले जानकारी गराए।

क्षेत्र नं. ३ बाट राष्ट्रिय सभातर्फ महासमिति सदस्य प्रमोद शर्मा, कांग्रेस नेता राजेन्द्र बिडारी र वेली डंगोलको नाम सिफारिस भएको छ।
त्यसैगरी ललितपुर क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिको बैठकले दिवाकर नेपाल, बाबुराजा चित्रकार र ललिता खनियाको नाम सिफारिस गरेर पठाएको नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. २ का सभापति महेश खड्काले जानकारी दिए।

खड्काले दिएको जानकारी अनुसार समानुपातिकतर्फ रुकु सापकोटा र  शान्ति महर्जन, राष्ट्रियसभातर्फ सुधालाल मुल्मी, प्रेमलाल महर्जन र प्रकाश केसीको नाम सिफारिस भएको छ।

ललितपुर क्षेत्र  नं. १ को क्षेत्रीय कार्य समितिको बुधबार बसेको बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय सदस्य उदय शम्शेर राणासहित पार्टीको बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे, महासमिति सदस्यहरु मथुराप्रसाद घिमिरे, खोमप्रसाद घिमिरे, बिमल चन्द्र बिष्ट, महाधिवेशन प्रतिनिधि एवम् पूर्व जिल्ला सचिव रबिन्स शर्मा र महासमिति सदस्य सीता वाइवाको नाम सिफारिस गरेको क्षेत्रीय सचिव मथुरा प्रसाद शर्मा बजगाईँले बताए।

यसैगरी, समानुपातिकतर्फ महासमिति सदस्यद्वय रामकृष्ण लामा (इन्द्र) र रिजना तुलाधरलाई सिफारिस गरिएको र माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पूर्वआमन्त्रित केन्द्रीय सदस्य एवम् महासमिति सदस्य कवेल बहादुर लामाको नाम सिफारिस भएको सचिव बजगाईँले बताएका छन् ।