आज भक्तपुरमा ३ लाख बढी एमाले कार्यकर्ताको भेला, देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

भक्तपुर । नेकपा (एमाले) ले भक्तपुर-१ सल्लाघारीस्थित १०८ रोपनी खुला चौरमा आज अपराह्न हुने ११औं महाधिवेशन उद्घाटन समारोहका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको जनाएको छ।

महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेताहरूले मञ्च व्यवस्थापनदेखि सहभागी व्यवस्थासम्मका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिए।

पार्टीका प्रचार विभाग प्रमुख तथा स्थायी समिति सदस्य राजेन्द्र गौतमका अनुसार उद्घाटन सत्रमा ३ लाख कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको छ। उनले विभिन्न भूभागबाट व्यापक सहभागिता सुनिश्चित गर्न आवश्यक सबै व्यवस्था मिलाइएको बताए।

उद्घाटन समारोहमा शुभकामना मन्तव्यका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित १६ राजनीतिक दलका वरिष्ठ नेताहरूको उपस्थिति रहने बताइएको छ।

त्यस्तै विदेश विभागसमेत हेर्ने केन्द्रीय सदस्य एवं बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले जेनजी आन्दोलनपछिको बिषम अवस्थाका कारण यसपटक विदेसबाट मित्र पार्टीका पाहुना बोलाउन नसकिएको भए पनि नेपालस्थित दूतावास र कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी हुने जानकारी दिए।

स्वयंसेवक व्यवस्थापनबारे जानकारी दिँदै महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले पार्टीका २४ जनसंगठनमार्फत ५ सय भन्दा बढी ड्रेस–कोडधारी स्वयंसेवक खटिने बताए। साथै १० हजार तालिमप्राप्त स्वयंसेवक समेत परिचालन गरिने उनले उल्लेख गरे।

मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च तयारी पूरा भएको जनाउँदै विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिरलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको जानकारी दिए। उनका अनुसार मञ्चका दायाँ–बायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन, र करिब तीन किलोमिटर दूरीसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको छ।

मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूका लागि २५ हजार सिट क्षमता राखिएको छ।

सहभागीहरूको सहजताका लागि काठमाडौंतर्फबाट आउने सवारी साधनलाई गट्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणको चौरमा, र काभ्रेबाट आउने सवारीलाई जगातीस्थित भाइरल प्लानिङ क्षेत्रमा पार्किङ व्यवस्था गरिएको बताइएको छ।

राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा रहेको महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट पाला प्रज्वलन गरी तथा पार्टीको झण्डा फहराएर गर्ने कार्यक्रम तय गरिएको छ।

११ औं महाधिवेशनका लागि २ हजार २ सय ६२ प्रतिनिधि निर्वाचित भएका छन् जसले पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व निर्वाचित गर्ने भएकोले एमालेमा उत्साह देखिन्छ । 

यसैबीच, एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले सम्पूर्ण भक्तपुरबासीलाई उद्घाटन समारोहमा सहभागी भई महाधिवेशनलाई भव्य बनाउन अपिल गरेका छन् ।