
काठमाडौं । नेपाल प्रहरीका ३५ जना अधिकृत दर्ज्यानी चिन्हले सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहबीच ती अधिकृतहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
सरकारको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ११ जना, प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट एसपीमा ११ जना र प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट डीएसपीमा १३ जना गरी ३५ जना अधिकृतहरूको पदोन्नति गरिएको हो।
दर्ज्यानी चिन्ह प्राप्त गर्ने एसएसपीहरूमा तुल बहादुर कार्की, राकेश सिंह, राजिब बहादुर बस्नेत, कमल थापा, प्रबिण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपक पोखरेल, दयानिधि ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाल छन्।
एसपीमा पदोन्नति भएका अधिकृतहरूमा अनिल कुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिल बहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का छन्।

त्यस्तै, डीएसपीमा नियुक्त भएका प्रहरी अधिकृतहरूमा बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्र बहादुर खड्का, होम प्रसाद अधिकारी र उपेन्द्र खरेल छन्।
समारोहमा बोल्दै आईजीपी थापाले पदोन्नति प्राप्त अधिकृतहरूलाई बधाई दिँदै जिम्मेवारीप्रति संवेदनशील भएर संगठनको हितमा क्रियाशील रहन निर्देशन दिए।

उनले भने “पदोन्नति सम्मान मात्र होइन, थप जिम्मेवारी हो ।” सामूहिक भावनासाथ काम गर्न आग्रह गर्दै उनले नागरिकको शान्ति सुरक्षालाई प्रमुख लक्ष बनाउन निर्देशन दिए ।
एसएसपी तुल बहादुर कार्कीले पदोन्नत अधिकृतहरूको तर्फबाट बोल्दै संगठन र नागरिक सेवामा पूर्ण निष्ठाका साथ अघि बढ्ने प्रतिबद्धता प्रकट गरे ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक, अन्य वरिष्ठ अधिकृतहरू तथा प्रहरी जवानहरूको उपस्थिति थियो।








