काठमाडौँ । नेपाल प्रहरीको नयाँ नेतृत्वका रूपमा एआइजी दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङ अनिवार्य अवकाशमा जानुअघि मन्त्रिपरिषदले कार्कीलाई नयाँ आइजिपीका रूपमा चयन गर्ने निर्णय गरेको हो।
मन्त्री परिषद स्रोतका अनुसार, आइजिपीको दौडमा रहेका एआइजी डा. मनोज केसी, राजन अधिकारी र सिद्धि विक्रम शाहलाई पछि पार्दै कार्कीले अन्ततः बाजी मारेका छन्। मन्त्री परिषदको सोमबार बसेको बैठकले कार्कीलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको छ ।
निर्णय संगै कार्कीलाई नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (आईजीपी) भएका छन्। उनको नियुक्ति मन्त्रिपरिषद्को बैठकमार्फत् गरिएको हो र नियुक्ति कात्तिक २७ गतेदेखि लागू हुने बताइएको छ।
गुल्मीको मालिका गाउँपालिका–७ का स्थायी बासिन्दा कार्कीले २०५४ साल चैत १८ गते निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए। चार हजार रुपैयाँ मासिक तलबबाट सुरु भएको उनको सेवा यात्रा आज प्रहरी संगठनभित्रै प्रेरणादायी सफलताको कथाका रूपमा स्थापित भएको छ।
सांगीतिक रुचि पनि उनको अर्को पहिचान हो। उनले “प्रहरी” शीर्षकमा समेत गीत सार्वजनिक गरिसकेका छन्। तर, उनको वास्तविक परिचय व्यावसायिकता, आत्मानुशासन, पारदर्शिता र देशभक्त नेतृत्व शैलीमै केन्द्रित छ।
कार्कीले आफ्नो सेवायात्रामा प्रहरी संगठनलाई सुधार, सुशासन र नवीन सोचको बाटोमा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेका छन्। आन्दोलन, महामारी र सामाजिक अस्थिरताको समयमा संयमता र विवेकपूर्ण निर्णय गरेर उनले संगठनलाई जनमुखी र सशक्त बनाउने दिशा देखाएका छन्।
देश हाल जेन–जी आन्दोलनपछि राजनीतिक रूपमा तनावपूर्ण र सामाजिक रूपमा संवेदनशील अवस्थामा रहेको बेला, कार्की जस्तो संयमी, दृढ र व्यवहारिक नेतृत्वले प्रहरी संगठनलाई स्थायित्व र विश्वसनीयताको नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।







