पर्यटन प्रवर्द्धनको लागि गोदावरी पदयात्रा

godavari

ललितपुर । गोदावरी नगरपालिका वडा न ३ को आयोजनामा शनिबार बृहत गोदावरी पदयात्रा कार्यक्रम सम्पन्न भएको छ ।

गोदावरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने अभिप्रायले वडा नं. ३ को आयोजनामा “घुमौं गोदावरी, रमाओैं दिनभरी” भन्ने नाराका साथ गोदावरी पदयात्रा आयोजना गरिएको वडा अध्यक्ष सानुराज (राज) घिमिरेले जानकारी गराएका छन् ।

गोदावरी पदयात्रा उपत्यका भित्रका विभिन्न पालिकाहरुका संघ संस्था, वडा तथा जनप्रतिनिधिहरुको साथ र समन्वयमा पदयात्रा सम्पन्न भएको हो। वडाध्यक्ष घिमिरेले भने, “गोदावरी क्षेत्रको पर्यटन प्रबर्द्धन सहित देश बिदेशमा गोदावरी वडा न.३ का विविध क्षेत्रको बारेमा ब्यापक प्रचार गर्नु यसको उदेश्य हो।”

आफू वडा अध्यक्ष हुँदा हरेक शनिबार दुई हजार नौ सय पर्यटक आउने गरेकोमा अहिले ११ हजार पर्यटक आउने गरेको अध्यक्ष घिमिरेले जानकारी गराए। हरेक शनिबार गोदावरी क्षेत्रमा २१ हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको पनि उनले जानकारी गराए ।

पदयात्रामा तारकेश्वर नगरपालिकामा रहेको तारकेश्वर योग साधना केन्द्र, तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु, ललितपुर महानगरपालिकाका, किर्तिपुर नगरपालिकाका विभिन्न वडाका व्यक्तित्वहरु लगायत गोदावरी नगरपालिकाका कार्यपालिका सदस्य तथा जनप्रतिनिधि सहित करिब दुई सय जनाको सहभागिता रहेको थियो ।

गोदावरी बसपार्कबाट सुरु भएको पदयात्रा नौधारा, भाइरल रोड, मार्वल डाँडा, वोटानिकल गार्डेन हुँदै शान्तिवन क्षेत्रमा गएर समापन भएको थियोे।

पर्यटन प्रवर्द्धनका लागि वडा कार्यालयले पदयात्रा लगायत स्थानीय ३५ जना युवाहरुलाई ४ दिने पर्यटन प्रबर्द्धन साथी शिक्षा कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ।

पर्यटन बिकासको क्षेत्रमा निरन्तर अगाडि बढाउने योजना सहित प्रशिक्षण दिदै सहितका कार्यक्रमहरु तय गरेको छ। गोदावरी पर्यटन प्रबर्द्धनकै लागि उपत्यकाब्यापी गोदावरी पर्यटन प्रबर्द्धन अनलाइन भिडियो प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।