काठमाडौं । जेनजी आन्दोलनको दबाबमा सत्ताच्युत भएका नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोही पुस्तालाई आफ्नै पार्टीमा प्रवेश गर्न आह्वान गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित पूर्व एमाले नेताकार्यकर्तालाई पार्टी प्रवेश गर्न आयोजित ‘घर फर्क राष्ट्रिय घोषणा सभा’मा ओलीले नयाँ पुस्ता, विशेषगरी जेनजी युवाहरुलाई एमालेमा सामेल हुन आग्रह गर्दै भने, “घर फर्क अभियान सुरु भइसकेको छ। फर्किएका पुराना साथीहरुसँगै नयाँ पुस्ताका युवाहरुलाई पनि एमालेमा प्रवेश गर्नुहुनेछ । यसले हाम्रो भविष्यको दिशा देखाउँछ।”
ओलीले मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने महाधिवेशनमा प्रत्यक्ष नेतृत्व चयन हुने जानकारी दिए। उनका अनुसार विधान, संगठन र राजनीतिक प्रस्तावहरू पहिल्यै पारित भएकाले महाधिवेशन नेतृत्व छनोटमा केन्द्रित हुनेछ।
कार्यक्रममा महासचिव शंकर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने आवश्यकता दोहोर्याउँदै भने, “मुलुकको समृद्धि र स्थायित्वका लागि एमालेको भूमिका अपरिहार्य छ।”
एमाले प्रवेश गरेकी नेतृ रामकुमारी झाँक्रीले विचार र गति मिल्नेहरू एउटै ठाउँमा हुनु सकारात्मक भएको बताइन्। उनले भनिन्, “अवसर खोज्न होइन, अवसर सिर्जना गर्न हामी एक भएका हौं।”
त्यसैगरी, चार वर्षअघि एमालेबाट अलग भएका किसान श्रेष्ठले अघिल्लो निर्णय गल्ती भएको स्वीकार गर्दै पुनः पार्टीमा फर्किएको घोषणा गरे।
‘घर फर्क अभियान’ देशभर विस्तार गर्ने एमालेको योजना छ।







