सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
गोरखा जन्मथलो भएपनि आफ्नो कहिँकतै स्थायी घरजग्गा नभएको उल्लेख गर्दै श्रेष्ठले सर्लाहीलाई नै आफ्नै घर ठानेको बताएका छन्।सिंगो देशको हित र विकासका लागि काम गर्न सर्लाहीका जनताले आफूलाई निर्वाचित गराउनेमा उनी आशावादी देखिएका छन्।
उनले राजनीतिक आधार क्षेत्रका रूपमा सर्लाही–३ रोजेका हुन् । २०७० सालको निर्वाचनमा समेत सर्लाहीका नेता तथा जनसमुदायले यही क्षेत्रबाट उम्मेदवारी दिन आग्रह गरेको स्मरण गर्दै श्रेष्ठले त्यसबेला पूरा गर्न नसकेको आग्रह यसपटक स्वीकार गर्दै उम्मेदवारी दिएको स्पष्ट पारेका छन्।
उनले सर्लाही जिल्लामा पार्टी काम तथा उत्पीडित वर्ग र समुदायको पक्षमा संघर्षको नेतृत्व र सहभागिता गर्दै आएको बताए।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनले यो निर्वाचन सामान्य निर्वाचन नभई ‘जेन–जी आन्दोलन’ पछिको देशको विशेष परिस्थितिमा हुन लागेको अत्यन्तै महत्वपूर्ण निर्वाचन भएको बताएका छन्।
श्रेष्ठले वैदेशिक हस्तक्षेपलाई प्रश्रय दिने राष्ट्रिय आत्मसमर्पणवाद र प्रतिगमनविरुद्ध संघर्ष गर्दै राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र अग्रगमनको पक्षमा आफू र आफ्नो पार्टी दृढ रूपमा उभिएको उल्लेख गरेका छन्। यही एजेन्डाका आधारमा जनताले आफूलाई मतदान गर्ने विश्वास व्यक्त गरेका छन्।
विकासका दृष्टिले पछाडि पारिएको सर्लाही जिल्ला र समग्र मधेशको गुणात्मक विकासमार्फत राष्ट्रिय विकासलाई नयाँ उचाइमा पुर्याउन आफूले नेतृत्व गर्ने प्रतिबद्धता पनि श्रेष्ठले व्यक्त गरेका छन्।
सर्लाही–३ मा श्रेष्ठको प्रतिस्पर्धा पूर्व रक्षामन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य रहेका नेकपा एमालेका उम्मेदवार हरि उप्रेतीसँग र यसअघि श्रेष्ठकै पार्टीबाट उम्मेदवार बनेर झिनो मतान्तरले पराजित भएका र हाल रास्वपाका उम्मेदवार नरेन्द्र साह लगायत तीन दर्जन उम्मेदवारसंग हुनेछ ।
आफ्नो सम्पूर्ण जीवन राजनीतिमा समर्पण गरेका श्रेष्ठ अविवाहित छन् । पारिवारिक मोहबाट पर रही देशलाई नै परिवार मान्ने श्रेष्ठले उपप्रधान एवं गृहमन्त्री रहँदा भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा गरेका कामहरूका कारण उनी जनतामाझ लोकप्रिय रहेका छन् ।
उनको सादगी र लोकप्रियताले निर्वाचनमा अन्य प्रतिस्पर्धीलाई सजिलै पछाडि पार्ने स्थानीय राकेश थापा बताउँछन् । स्वच्छ छविका श्रेष्ठ जस्तो असल नेता चुन्ने अवसर सर्लाही-३ ले नगुमाउने नेपाली कम्युनिष्ट पार्टीका नेता अच्युत्तमप्रसाद काफ्लेले बिश्वास ब्यक्त गरे ।







