रौतहट । रौतहटमा पूर्व–पश्चिम राजमार्गस्थित धनसार पुल नजिक पेट्रोल बोकेको ट्यांकर दुर्घटनामा परेपछि आगलागी भएको छ।
बिहीबार बिहान करिब साढे ५ बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर रौतहटको धनसार पूलनजिक दुर्घटनामा परेको हो । ट्यांकर अनियन्त्रित भई पल्टिएलगत्तै आगो लागेको प्रहरीले जनाएको छ। उक्त ट्यांकरमा करिब १२ हजार लिटर पेट्रोल रहेको बताइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार दुर्घटनापछि चालक सुरक्षित रूपमा बाहिर निस्किएका कारण कुनै मानवीय क्षति भएको छैन।
दमकल तथा सुरक्षाकर्मीको सक्रियतामा आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।







