काठमाडौं । सिराहाको एक घरबाट कटुवा पेस्तोल बरामद भएपछि त्यसका धनी भनिएका एक किशोरलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारीका अन्दाजी १८ वर्षीय मोहम्मद अफरोज राईनलाई काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित ‘२०२० बोयज होस्टल’बाट पक्राउ गरिएको हो।
प्रहरीले बुधबार राति विशेष सूचनाको आधारमा अफरोजको सिराहास्थित घरमा खानतलासी गर्दा लुकाइराखिएको कटुवा पेस्तोल फेला पारेको थियो। त्यसपछि उनी काठमाडौंमा बसिरहेको सूचना पाएपछि प्रहरी वृत्त बानेश्वरसँग समन्वय गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
सिरहा पहरीले लक्ष्मीपुर पतारी गाउँपालिका-६ स्थित सलोखरी दास टोलबाट पनि पेस्तोल र म्याग्जिनसहित तीनजनालाई पक्राउ गरेको छ ।
लहान-२२ सलोखरीका १९ वर्षीय सञ्जय दास, सोही स्थानका २० वर्षीय गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका–६ का २० वर्षीय साबरजित दास पक्राउ परेका छन् । शंका लागि चेकजाँच गर्दा साबरजितको साथबाट ती हतियार बरामत गरिएको प्रहरीको भनाइ छ ।
पछिल्लो समय सुनसरी र सिरहामा दङ्गा हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको छ ।







