अस्पतालबाटै बच्चा चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट जन्मेको चौविस घण्टा नबित्दै नवजात शिशु चोरी भएको छ। आइतबार राति अपरिचित एक महिलाले बच्चा खेलाउने बहानामा शिशु लिएर बेपत्ता भएकी छन् ।

सर्लाहीको रामनगर गाउँपालिका–३ की रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत बालकलाई जन्म दिएकी थिइन्। जन्मेको २४ घण्टा नबित्दै शिशु  शिशु चोरी भएपछि परिवार चिन्तित छन् ।

अन्दाजी ३५ वर्षीया महिलाले शिशुकी हजुरआमासँग बच्चा खेलाउने भन्दै मागेकी थिइन्। गाइनो वार्डमा सरसफाइ चलिरहँदा बच्चा बोकेर बाहिर रहेकी हजुरआमालाई बिश्वासमा पारी उनी बच्चा बोकेर फरार भएकी बताइएको छ । उक्त महिला आफू सरसफाइ कर्मचारी रहेको भन्दै नजिकिएकी थिइन् ।

घटनाको जानकारी पाएलगत्तै प्रहरीले शिशुको खोजी तीव्र पारेको जनाएको छ।