पायल्सको अप्रेसन गर्दा गयो किसोरीको ज्यान, स्थानीय आक्रोशित

सर्लाही । लालबन्दी नगरपालिका–२ पुनर्वासकी एक किसोरीको अबैध आयुर्वेद औषधालयमा उपचार गर्दा ज्यान गएको छ । 

पुनर्वासकी १८ वर्षीया हङ्शु पासवानको लालबन्दी-१ नवलपुरस्थित मोहन आयुर्वेद औषधालयमा पायल्सको अप्रेसनका क्रममा अवस्था गम्भीर बने लगत्तै हरिवनस्थित नमूना अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। 

ज्यान गुमाउने हङ्सु स्थानीय बिपिन्द्र पासवानकी छोरी हुन् । उनी लालबन्दीस्थित जनज्योति माविको कक्षा १२ मा बिज्ञान संकायकी विद्यार्थी थिइन् ।

घटनापछि आक्रोशित स्थानीयले नवलपुर चोकमा टायर बाल्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन् । प्रहरीले सम्झाइबुझाइ गरेपछि साँझ चक्काजाम खुलाइएको एक स्थानीयले बताए ।

प्रहरीले अप्रेसन गर्ने रामविनय साहलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ।

मोहन आयुर्वेद औषधालय लामो समयदेखि सञ्चालित रहेपनि यो अवैध रहेको खुलेको छ । यस क्षेत्रका अवैध स्वास्थ्य संस्थामाथि नियमन हुन नसक्दा यस्ता घटना दोहोरिने गरेका प्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन् । दोषीलाई कडा कार्वाही र अबैध सबै संस्था बन्द गर्न स्थानीयले माग गरेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।