ससुरालीमै श्रीमतीको ज्यान लिन खोज्ने श्रीमान पक्राउ

सर्लाही । बागमती नगरपालिका –५ टेकानी स्थित ससुरालीमा गएर श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान लिन खोज्ने एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनकौल गाउँपालिका –०१ शेखौना बस्ने २१ वर्षीय बसन्ता बैठा धोबी रहेका छन् ।

उनले सोमबार राति करिब ८:०० बजे आफ्नै १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरी घाँटीमा साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेका आरोप छ।

घटनाका क्रममा बहिनी नाता पर्ने १० वर्षीया बालिकाले घटना देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन् । आफन्तले समयमै पासो खोलेर चिन्ता देवीको उद्धार गरेका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी राजघाटबाट प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई बागमती मोडेल अस्पताल, कर्मैया पुर्‍याएको थियो । सामान्य उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएकोमा पुन: थप उपचारको लागि राति १०:३० बजे रौतहटको बेटर नेपाल, गरुडामा लगेर उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको छ ।

घटनामा संलग्न बसन्ता बैठा धोबीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।