इँट्टाको पर्खाल भत्किदा गयो ३ जनाको ज्यान

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा इँट्टाको चाङले च्याप्दा ३ मजदुरको ज्यान गएको छ। हरिपुर–५ मजुर्वास्थित कृष्णा इँट्टाभट्टामा बिहीबार यो दुर्घटना भएको हो ।

इँट्टाको चाङ एक्कासी भत्किँदा त्यसमा च्यापिएर तीन जना मजदुरको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

मृत्यु हुनेमा गौडेता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताई मन्सुर, गौडेता–९ का ३५ वर्षीय शम्भु राउत तथा भारतको लखिमपुर जिल्लाका ३५ वर्षीय अंगद कुमार रहेका छन्।

प्रहरीका अनुसार भट्टाबाट इँट्टा निकाल्ने क्रममा अचानक इट्टाको अग्लो चाङ ढलेपछि मजदुरहरू पुरिएका थिए। स्थानीय र प्रहरीले तत्काल उद्धार गरी घाइतेहरूलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएका थिए। तर, उपचारका क्रममा चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन्।

दुर्घटनामा मलङ्गवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
इलाका प्रहरी कार्यालय हरिपुरले घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।