काठमाडौं । सर्लाही-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रमोद साहले आफू मधेशको असली ‘बेटा’ भएको बताएका छन् । १७ वर्षमै स्ववियु उपसभापति निर्वाचित भएर शुरु गरेको आफ्नो राजनीतिक इतिहास हालसम्म पनि सधैं शोषित, पीडित, गरीब र बेसहाराको लागि सहारा भएर उभिएको उनले स्मरण गरे ।
”मैले कुनै पार्टी वा समुदाय भनेको छैन, अन्याय र शोषणको बिरुद्ध सधै पीडितलाई साथ् र सहयोग गरेको छु ।’ उनले भने । आफू प्रतिनिधि सभा सदस्य हुँदा प्रतिनिधि सभामा जनताको आवाज बोलेको मात्र नभई सडकमा संघर्ष समेत गरेको उनले उल्लेख गरे ।
सर्लाही-काठमाडौं सम्पर्क समितिको उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै उनले आफूमा क्रान्तिकारी चरित्र रहेको जिकिर गरे । ”केही दिन अघि छोरीको बिहे गर्न बैंकबाट पैसा झिकेका बुवालाई प्रहरीले समातेर भन्सारमा बुझाइदियो, मैले आन्दोलनको नेतृत्व गरी उहाँलाई छुटाए र जनतालाई दु:ख नदिन सचेत गराए” साहले भने, ”तर ती बुवालाई मैले पहिले कहिल्यै चिनेको थिइन ।”
उनले आफू २०७४ मा प्रतिनिधि सभा सदस्य भएपछि सर्लाही-१ मा भएको विकासलाई ऐतिहासिक भनेका छन् । ”त्यो अवधीको विकास न पहिले भएको थियो नत त्यसपछि नै भयो ।”उनले भने । बिकासको पहलकर्ताको रुपमा आफ्नो कार्यकालमा भएको कामहरुको बुकलेट नै छापेको उल्लेख गर्दै उनले भने, ”मतदाताले हल्ला गर्नेलाई होइन, काम गर्नेलाई मतदान गर्नुहुन्छ भन्नेमा बिश्वस्त छौं ।”
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार साहले आफ्नो पार्टीबाट क्षेत्र नम्बर ३ मा बेदाग र इमान्दार उम्मेदवार नारायणकाजी श्रेष्ठ हुनु सर्लाहीकै सान भएको बताए । सुशासन र भ्रष्टाचारको ठुला ठुला फाइल खोलेर आफ्नो क्षमता देखाइसकेका नारायणकाजी सर्लाही आउनुले सिंगो सर्लाही तारामय हुन मद्दत मिलेको उनले बताए ।
क्षेत्र नम्बर ४ मा सधै निर्वाचित हुन सफल जनताको लोकप्रिय उम्मेदवार महेन्द्र राय यादव र क्षेत्र नम्बर ४ मा जेनजी पुस्ताका प्रतिनिधि डा रजनीस यादव उम्मेदवार रहेको उल्लेख गर्दै उनले भने, ” सर्लाहीका हामी सबै उम्मेदवार जनताका असली सेवक हौँ, हामीलाई निर्वाचित गर्नु जनता निर्वाचित हुनु हो ।’
जसको नीति उसैको नेतृत्वमा जोड दिंदै उम्मेदवार साहले वर्तमान परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नेकपाको बच्चा भएको भन्दै आफ्नो बच्चाको माया आमालाई मात्र हुने अर्थमा आफ्नो पार्टीलाई मतदान गर्न अपिल गरे ।
जेनजी पुस्तालाई दमन गरि भदौ २३ निम्त्याउने शक्ति र भदौ २४ को विध्वंस मच्चाउने शक्तिहरुलाई पराजित गर्न तथा देशलाई स्थिरता, अग्रगमन, समृद्धि र सुशासन प्रदान गर्न नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिह्न तारामा मतदान गर्नुको बिकल्प नभएको उनले बताएका छन् ।







