काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले फागुन २१ गते हुने निर्वाचन सामान्य नभएको बताएका छन् । निर्वाचनमार्फत तीनवटा कार्यभार पूरा गर्नुपर्ने उनले प्रष्ट पारे ।
राजधानीमा सर्लाही–काठमाडौं सम्पर्क समितिको अन्तरक्रियालाई सम्बोधन गर्दै सर्लाही–३ का उम्मेदवार समेत रहेका श्रेष्ठले बैदेशिक हस्तक्षेपको प्रयासलाई परास्त गरी राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु निर्वाचनको प्रमुख कार्यभार रहेको बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र,समाजवाद उन्मुख समावेशी लोकतन्त्र र त्यसलाई संस्थागत गर्ने नेपालको संविधानलाई रक्षा गर्नुका साथै थप बिकसित गर्ने अर्को कार्यभार पनि पूरा गर्नपर्ने उनले प्रष्ट पारे । त्यसैगरी, राजनीतिक अधिकारसंगै आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण तथा सुशासन, सम्वृद्धि र सामाजिक न्यायको पक्षमा जनमत प्रदर्शन गर्नु निर्वाचनको तेस्रो कार्यभार भएको उनको भनाइ छ ।
निर्वाचनमा मुख्यत चारवटा शक्तिबीच प्रतिस्पर्धा भरहेको र मतदाताले ती शक्तिलाई चिन्न सक्नुपर्नेमा उनले जोड दिए । एकथरी शक्ति वर्तमान परिवर्तन र राजनीतिक उपलब्धिलाई उल्ट्याउन चाहने प्रतिगामी शक्ति र अर्कोथरी अगाडी बढ्न नचाहने यथास्थितिवादी शक्ति रहेका उनले बताए । पुरानै व्यवस्था चाहने राजावादी शक्तिले प्रतिगामी शक्तिको प्रतिनिधित्व गरिरहेका र लामो समय सत्ता चलाइरहेका नेपाली काँग्रेस र नेकपा एमाले यथास्थितिवादी शक्तिको रुपमा रहेका उनले स्पष्ट पारे ।
त्यसैगरी तेस्रो शक्तिको रुपमा नयाँ शक्तिको उदय भएको उनले उल््लेख गरे । यो शक्ति रुपमा अग्रगामी र सारमा प्रतिगामी भएको उनले बताए । “यस्ता शक्ति हेर्दा जनताको सेवा गर्ने जस्तो गरी आएपनि सारमा विदेशीको सेवा गर्ने खतरनाक छन् ।“ उनले भने ।
चौथो शक्ति अग्रगामी शक्ति भएको र त्यसको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गरिरहेको उनको दावी छ । नेता श्रेष्ठले बताए अनुसार प्रतिगामी शक्ति देशलाई पछाडी धकेल्न चाहन्छ भने यथास्थितिवादी शक्ति हावी भए देशलाई अगाडी बढ्न रोक्दछ र जेन-जी विद्रोह जस्ता विद्रोहको वातावरण बनिरहन्छ । उनले अग्रगामी शक्तिले नै देशलाई सुशासन, बिकास, सम्वृद्धि र समाजवाद तर्फ अघि बढाउँन सक्ने तथा जनचाहना र समयको माग अनुरुप रुपान्तरित हुँदै अघि बढ्न सक्ने बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र निर्माणको नेतृत्व गरेको नेपाली कम्युनिष्ट पार्टीले मात्र नेपालमा समाजवाद ल्याउन सक्ने उनको जिकिर छ । आफ्नो पार्टीको नेतृत्वमा सरकार रहँदा भुटानी शरणार्थी, बासबारी छालाजुत्ता, ललिता निवास, सुन काण्ड लगायत ठुला ठुला काण्डमा कारवाही भएको बिर्सनु नहुने उनले बताए । मिटरब्याज पिडितलाई न्याय दिनेदेखि उखु किसानलाई राहत दिने सम्मको काम आफूहरुले गरेको उनले जानकारी गराए ।
“हाम्रो पार्टीको सरकारले सुशासनको पक्षमा र भ्रष्टाचार बिरुद्ध काम गरेकैले ढालिएको थियो ।” उनले भने, ”हाम्रो सरकारले काम गरिरहन पाएको भए जेन-जीहरुले बिद्रोह गर्नुपर्ने अवस्था नै आउने थिएन ।”
आफ्नो उम्मेद्वारीबारे स्पष्ट पार्दै नेता श्रेष्ठले जनसंख्याको ठुलो हिस्सा भएको तर, बिकासमा पछाडी परेको तराईमधेसमा बिकासको मोडल दिनसक्ने हैसियतले सर्लाही–३ मा उम्मेद्वारी दिएको दावी गरे । समाजवादी क्रान्तिका लागि आधार भूमि रहेको र राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनताको मोर्चामा अग्रणी भूमिका निर्वाह गर्नसक्ने गरी आफू मधेस ओर्लिएको उनले बताएका छन् ।
कृषी क्रान्तिमार्फत किसानको जीवन स्तर उकास्ने र किसानका हरेक समस्या समाधान गर्न आफूसंग स्पष्ट योजना भएको उनले सुनाए । सर्लाहीको सुकुम्बासी, स्ववासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उनले प्रतिवद्धता प्रकट गरे ।
युवालाई एकीकृत प्याकेजमार्फत ज्ञान, सीप, रोजगार र स्वरोजगारसंग जोड्ने उनले जिकिर गरे । सर्लाहीमै गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नेगरी योजना अघि बढाउने उनले बताए । बिशेषगरी महिलामा साक्षरता र सास्कृतिक अभियान संचालन गरी उनीहरुको जीवनस्तर उकास्ने उनको भनाइ छ ।
सो अवसरमा सर्लाही–१ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार रहेका प्रमोद साहले आफूले बिगतमा सर्लाही–१ को प्रतिनिधि सभा सदस्यको रुपमा गरेको योगदान स्मरण गर्दै बिजयी हुने बिश्वास व्यक्त गरे । बालेन साहले अहिले मधेसीलाई भ्रमित गरिरहेका सन्दर्भ उल्ले गर्दै उनले भने, ”प्रमोद साह मधेसको असली छोरा हो ।”
त्यसैगरी सर्लाही–४ का उम्मेदवार डा रजनीश यादवले मिडियामा गगनकुमार थापा र अमरेशकुमार सिंहको चर्चा चलेपनि मैदानमा आफ्नो चर्चा रहेको र आफूले जित्ने दावी गरे । आफू जेनजी उमेर समूहको उम्मेदवार समेत रहेको उल्लेख गर्दै उनले भने, ”हाम्रो पार्टीको लोकप्रियता र जेनजी विद्रोहको सेन्टिमेन्ट बोकेको कारण जीत सुनिश्चित छ ।” सो पार्टीका तर्फबाट सर्लाही–२ मा उम्मेदवार रहेका महेन्द्र राय यादव भने अनुपस्थित रहे । उनी सर्लाहीमै घरदैलो कार्यक्रममा व्यस्त हुनुपरेकोले अनुपस्थित रहेका आयोजक समितिका नेता राकेश थापाले जनाएका छन् । यादव आफ्नो क्षेत्रबाट हरेक पटक बिजयी हुन सफल लोकप्रिय नेता हुन् ।
सो अवसरमा समानुपातिक उम्मेदवार इ. घनश्यामप्रसाद रजकले प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा तारा चुनाव चिह्नमा मतदान गरी परिवर्तनको पक्षमा जनमत प्रदर्शन गर्न अपिल गरेका थिए ।उनले मतदानको दिन मत हाल्न मात्र सहभागी नभई घरदैलोमा सहभागी भई पार्टीको पक्षमा जनमतको रक्षा गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सर्लाहीका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरु तथा जनवर्गीय संगठनका नेताहरुको आतिथ्यता रहेको थियो ।







