काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको भीषण बाढी भोटेकोशी नदीमा मिसिँदा रसुवा र नुवाकोटस्थित नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण हालसम्म ९०३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने हजारौँ नागरिक अझै सम्पर्कविहीन छन्।
गृह मन्त्रालय र प्रहरीका अनुसार रसुवागढी नाका, टिमुरेस्थित भन्सार कार्यालय र स्याफ्रुवेशी क्षेत्र बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन्। सीमावर्ती क्षेत्रमा गएका नेपालीहरूबारे चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार चीनतर्फ मात्रै ९८ जना नेपाली बेपत्ता छन्।
सुरक्षाकर्मी र आयोजनाका मजदुर धेरै प्रभावित
बाढीका कारण क्षेत्रमा खटिएका सुरक्षा निकाय तथा निजामती कर्मचारीहरू नै ठूलो सङ्ख्यामा बेपत्ता भएका छन्। इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुवेशी र रसुवागढी चौकीका गरी २५ जना प्रहरी, ४५ जना नेपाली सेना, १३ जना सशस्त्र प्रहरी र भन्सार एवं अध्यागमनका १८ जना कर्मचारी सम्पर्कमा आएका छैनन्।
त्यस्तै, जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशुली–१ आयोजनाको सुरुङभित्र ३०० जना फसेका छन् भने ९ जना कोरियनसहित ३३२ जना ६ दिनदेखि सम्पर्कविहीन छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अनुसार विभिन्न ११ वटा आयोजनाका कुल ८९८ जना कर्मचारी तथा मजदुर सम्पर्कविहीन रहेका छन्।
तथ्याङ्क सङ्कलनमा अलमल
सम्पर्कविहीन नागरिकहरूको यकिन तथ्याङ्क सङ्कलनमा सरकारी निकायहरूलाई निकै कठिनाइ भइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ४,२४७ जना बेपत्ता रहेको जनाएको छ भने प्रहरी प्रधान कार्यालयले ४,६०८ जना सम्पर्कविहीन रहेको बताएको छ। काठमाडौँ र नुवाकोटबाट कुन समयमा कति मानिस रसुवातर्फ गएका थिए भन्ने एकीकृत प्रणाली नहुँदा विवरण सार्वजनिक गर्न ढिलाइ भइरहेको गृह मन्त्रालयले जनाएको छ।
प्रतिकूल अवस्थाका बाबजुद उद्धार कार्य जारी छ। नेपाली सेना तथा अन्य सुरक्षाकर्मीहरूले हवाई र स्थलमार्गबाट हालसम्म १०,४५१ जना अलपत्र नागरिकको सफल उद्धार गरेका छन्। हवाई उद्धारका लागि ४११ पटक हेलिकप्टर उडान गरिएको छ ।






