भोटेकोशी बाढीको पाँच दिनपछि पनि अपर त्रिशूली–१ का बेपत्ताको उद्धार हुन सकेन

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत ९ जना कोरियन नागरिकसहित कैयौँ नेपाली कामदार सम्पर्कविहीन भएका छन्। उनीहरू बेपत्ता भएको पाँच दिन बितिसक्दा पनि प्रभावकारी खोज तथा उद्धार हुन नसकेको परिवार र आयोजनासँग सम्बन्धित पक्षको गुनासो छ।

बाढीले आयोजनास्थलमा ठूलो क्षति पुर्‍याएपछि त्यहाँ कार्यरत श्रमिकहरूको अवस्थाबारे अन्योल कायम छ। बेपत्ताको खोजी तथा उद्धारका लागि निजी हेलिकप्टर परिचालन गर्न खोजिए पनि सरकारी अनुमति नपाउँदा अभियान प्रभावित भएको बताइएको छ।

आफ्ना नागरिकको खोजी तथा उद्धारमा सहयोग गर्न कोरियाली सरकारले नेपाल सरकारसँग आग्रह गरिसकेको छ। नेपालस्थित कोरियाली दूतावास र आयोजनाको प्रवर्द्धक कम्पनीले समेत विभिन्न सरकारी निकायसँग समन्वय गर्दै हेलिकप्टरमार्फत खोज तथा उद्धार गर्न पहल गरिरहेको जनाइएको छ।

सम्बन्धित पक्षका अनुसार आयोजनामा उद्धारका लागि आवश्यक स्रोतसाधन र हेलिकप्टरको व्यवस्था गर्न सकिने अवस्था भए पनि उडानका लागि सरकारी स्वीकृति नपाउँदा समस्या भएको हो।

एक बेपत्ता कामदारका आफन्तले पाँच दिन बितिसक्दा पनि आफ्ना मानिसहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको भन्दै तत्काल खोजी तथा उद्धार गर्न माग गरेका छन्। उनीहरूका अनुसार निजी स्रोतबाट हेलिकप्टरसमेत तयार राखिएको भए पनि सरकारी अनुमति नहुँदा परिचालन गर्न सकिएको छैन।

यस विषयमा परराष्ट्र मन्त्रालयले भदौ १२ गते रक्षा मन्त्रालयलाई पत्र पठाउँदै फिस्टेल एयर र प्रभु हेलिकप्टरका गरी ६ वटा हेलिकप्टरलाई आयोजनास्थलमा अवतरण तथा उद्धारका लागि अनुमति दिन आग्रह गरेको बताइएको छ। कोरियाली दूतावासले पनि कूटनीतिक माध्यमबाट आफ्ना नागरिकको खोजीका लागि आवश्यक उडान अनुमति उपलब्ध गराउन अनुरोध गरेको थियो।

तर, सम्बन्धित पक्षले परराष्ट्र मन्त्रालयको सिफारिस हुँदाहुँदै पनि गृह तथा रक्षा मन्त्रालयबाट पर्याप्त उडान अनुमति प्राप्त हुन नसकेको दाबी गरेका छन्। सुरक्षा तथा प्राविधिक कारण देखाउँदै अनुमति प्रक्रियामा ढिलाइ भएको उनीहरूको भनाइ छ। केही उडानका लागि अनुमति पाए पनि आवश्यकताअनुसार व्यापक खोज तथा उद्धार अभियान सञ्चालन हुन नसकेको बताइएको छ।

कोरियाली सरकारले आफ्ना नागरिकको उद्धारमा सहयोग पुर्‍याउन विशेष टोलीसमेत नेपाल पठाएको छ। तर, उक्त टोलीले समेत अपेक्षित रूपमा हवाई खोज तथा उद्धारमा सहभागी हुन नपाएको बताइएको छ।

आयोजनास्थल आसपासको भूगोल निकै जोखिमपूर्ण रहेको र कतिपय स्थानमा करिब ९० डिग्रीको भिर तथा घना जंगल रहेको जनाइएको छ। बेपत्ता कामदारमध्ये केही घाइते अवस्थामा रहेको सूचना आएको भन्दै आफन्त तथा आयोजनाका प्रतिनिधिले तत्काल हवाई खोजी र उद्धार गर्न सरकारसँग आग्रह गरिरहेका छन्।

यसैबीच, बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक सूचीसमेत सार्वजनिक हुन नसकेको भन्दै पीडित परिवारले असन्तुष्टि जनाएका छन्। उनीहरूले बेपत्ताको यकिन विवरण सार्वजनिक गर्न र ढिलाइ नगरी खोज तथा उद्धार अभियान तीव्र बनाउन सरकारसँग माग गरेका छन्।