ओलीको दावी : मेरो आफन्तको उद्धार आफै गर्छु भन्दा पनि सरकारले रोकिराख्या छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको उद्धारको गतिमाथि प्रश्न उठाएका छन् । सोमबार एमाले उपत्यका कमिटीले उपलब्ध गराएको राहत रकम बुझ्दै ओलीले सरकारले अरूलाई उद्धार गर्न रोकिराखेको आरोप लगाएका हुन् ।

‘अरूलाई निजी हेलिकप्टर पनि चलाउन दिएको छैन,’ ओलीले भने, ‘जान्नेहरू छन् त्यहाँ, उद्धार गर्न इच्छुकहरू छन् त्यहाँ । उद्धारका निम्ति तालिम लिएका मान्छे छन्, त्यस्ता मान्छेलाई हेलिकप्टर प्रयोग गर्न दिने हो भने तिनीहरूले काम गर्न पाउने हो भने धेरै काम गर्थे ।’

तर, प्रतिबन्ध लगाएर रोकिदिएको उनले बताए । ‘अब रेस्क्यू कहाँकहाँ गर्नुहुन्छ, सुरुङमुनिको रेस्क्यू त हेलिकप्टरबाट हुन्न । त्यहाँ मजदुर रोकेर राखेको बल्ल खुल्या छ ।’

स्थानीय जनताले पनि आफन्तको उद्धार गर्न नपाएको ओलीले आरोप लगाए । ‘स्थानीय जनता भनिराख्या छन्, हामीलाई आफन्तहरू खोज्न देउ न । केन्द्रीय सरकारले त्यो रोकिदिया छ,’ उनले भने । यस्तो अवस्थामा पनि एमालेले आफ्नो स्थानबाट उद्धार तथा राहतको काम गरिरहेको र गरिरहने उनले बताए ।

‘हामी सकेसम्म सबैसँग समन्वय गरेर काम गर्न चाहन्छौं, केन्द्रीय सरकारसँग पनि समन्वय गर्न चाहन्छौं,’ ओलीले भने, ‘केन्द्रीय सरकारको कोषमा पैसा जम्मा भएको छ । तर, जनता भोकै छन् ।’

यस्तो अवस्थामा एमालेले दिन खोजेको राहत रकम पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने कि आफै पीडितकहाँ पुर्‍याउने भन्ने प्रश्न उठिरहेको उनले बताए ।