सिन्धुली अस्पताल कागजरहीत, सचिव डा गौतमलाई भब्य सम्मान

Dr. Sumitra Gautam
Dr. Sumitra Gautam

सिन्धुली । बागमती प्रदेश सरकार मातहत सञ्चालित सिन्धुली अस्पताल कागजरहित हुने भएको छ । बिरामीको पूर्जा देखि सबै रिपोर्ट अब अनलाइन हुने भएको हो ।

बिहीवार प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पेपरलेस प्रविधिको उद्घाटन गर्दै सिन्धुली अस्पतालमा कागजरहीत सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश मातहतका १३ वटै अस्पताललाई कागजरहीत गर्ने जानकारी गराए । “सिन्धुली पछि भक्तपुर, नुवाकोट हुँदै सबै प्रादेशिक अस्पताललाई यसै आर्थिक वर्ष भित्र पेपरलेस गर्छौ।” मन्त्री थापाले भने।

स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउन र अस्पताल-बिरामी बीचको सम्बन्ध बढाउन यसले मद्दत गर्ने स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतम बताउँछिन् ।

सो अवसरमा सिन्धुली अस्पतालले सचिव डा गौतमलाई विशेष अभिनन्दन गरेको थियो ।

अस्पतालको पूर्व मेडिकल सुपरिटेन्डेन्ट समेत रहेकी डा गौतमलाई तत्कालीन समयमा पुर्याएको योगदान र सचिव भएपछि पनि सिन्धुली अस्पतालको विकासमा गरेको साथ र सहयोगका लागि अस्पताल परिवार एवं नागरिक समाजको तर्फबाट अभिनन्दन गरिएको हो ।

उनको कामको कदर स्वरुप सम्मान पत्रसहित अभिनन्दन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले बताएका छन् ।

डा. गौतमको नेतृत्वमा नै सिन्धुली अस्पताल सय शैयामा बिस्तार भएको थियो । रिफर सेन्टरको रुपमा रहेको सिन्धुली अस्पताललाई सेवा थप र गुणस्तर वृद्धि गरि उनले २०७४ मा पहिलोपटक बागमती प्रदेशकै उत्कृष्ट अस्पताल बनाइन् ।

२०७७ मा भक्तपुर अस्पताललाई पनि डा गौतमले बागमती प्रदेशको उत्कृष्ट अस्पताल बनाउन सफल भएकी थिइन् । भक्तपुरले भने सो बिरासत कायमै राखेको छ ।

हाल बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालयको सचिव रहेकी डा गौतम चिकित्सकको तर्फबाट पहिलो प्रदेश सचिव हुन् । संघीय मन्त्रालय अन्तर्गत ११ औं तहकी कर्मचारी डा गौतम महिला तथा प्रसुती रोग विशेषज्ञ हुन् । एमडीमा आफ्नो ब्याचकी गोल्ड मेडलिस्ट समेत रहेकी उनी प्राविधिक क्षेत्रमा जति योग्य छिन्, प्रशासनीक क्षेत्रमा पनि उत्तिकै योग्य सावित भएकी छन् ।

हकी स्वभावकी सचिव डा गौतमले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय सम्हालेपछि बिचौलियाहरुको भागाभाग भएको छ भने नवीन एवं रचनात्मक सुधारका प्रयासहरु शुरु भएका छन् ।