काठमाडौँ । गत बुधबार बिहान ११ बजेबाट बन्द भएको वीरगञ्ज–पथलैया सडक खण्ड आज (शनिबार) चौंथो दिन पनि ठप्प छ ।
तीन बर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि भन्दै सडकमा उत्रिएका स्थानीयबासीले वीरगञ्ज–पथलैया सडकको सिमरामा सडकमै टेण्ट टाँगेर प्रदर्शन गरिरहेका छन् ।
बिहीबार राति स्थानीय प्रशासनले केही राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँच बुँदे सहमति गर पनि मृतक बलिकाकी परिवारले उक्त सहमति अमान्य रहेको बताएको थियो ।
अहिले पनि स्थानीयले सडक धर्ना जारी राखेका छन् । बालिकाका परिवारलाई साथ दिन जीतपुरसिमरा उपमहानगरपालिका सहित बाराका विभिन्न क्षेत्रबाट मानिसहरू सडकमा जम्मा भैरहेका छन् ।
सुरुमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीले घटना भएको भन्दै उनको सरुवा मागेका स्थानीयबासीले डीएसपी दिलिप क्षेत्रीको सरुवा भएपछि प्रशासनसमक्ष पाँच बुदे सहमति बिहीबार राति भएको थियो ।
तर मध्यरातमा भएको सहमतिमा आफूहरुको सहमति नरहेको भन्दै परिवारले आन्दोलन जारी राखेका हुन् । मृतक बालिकाको शव कलैया अस्पतालमै छ भने परिवारले आन्दोलन यथावत राखेका छन् ।
काठमाडौँमा पनि प्रदर्शन
बालिका चौधरीको न्यायको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ। गरिमा चौधरीको हत्याको विरोधमा नागरिक, युवा, विद्यार्थी तथा अधिकारकर्मी लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले शनिवार काठमाडौँमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले ‘बलात्कारीलाई फाँसी दे’ जस्ता नाराबाजी गर्दै कडा कानुनी कारबाहीको माग गरेका छन्। प्रदर्शनमा सहभागीहरूले ‘छोरी जन्मनु अपराध हो?’ तथा ‘जुन देशले आफ्ना बच्चाहरूलाई सुरक्षा दिन सक्दैन, त्यो देश विकासमा होइन लाजमा डुब्नुपर्छ’ लेखिएका प्लेकार्डहरू बोकेका थिए।







