३३ सालदेखिको परम्परा तोड्दै नेपाली कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ।

भाद्र २३ र २४ गतेको अकल्पनीय राजनीतिक घटनाक्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाएको र मुलुक शोकमा डुबेको परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसले चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै चाडपर्वको बेला नागरिकहरू गहिरो शोकमा रहेका कारण कार्यक्रम आयोजना नगर्ने बताएका छन्।

उनका अनुसार भाद्र २३ र २४ गतेका घटनामा राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, संसद भवन, सर्वोच्च अदालतलगायत राज्यका विभिन्न संरचना, प्रहरी कार्यालय, ऐतिहासिक भवन, व्यवसायिक प्रतिष्ठान, पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. आरजु राणा देउवालगायत नेताहरूको घर तथा सम्पत्तिमा आक्रमण, लुटपाट र आगजनी हुँदा ठूलो क्षति भएको छ। कांग्रेसले यस घटनालाई नेपालको इतिहासकै अकल्पनीय र दुःखद क्षणको रूपमा व्याख्या गरेको छ।

वि.सं. २०३३ सालमा बी.पी. कोइराला निर्वासनबाट फर्केपछि कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीतिअन्तर्गत हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको परम्परा यसपटक रोकिन लागेको हो।