ललितपुर । देशको जेठो पार्टी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य राजीव ढुङ्गानाले युवाको प्रतिनिधित्व, भ्रष्टाचारमा शून्य सहनशीलता, रूपान्तरित र पुनर्गठित पार्टी सहित निर्वाचनमा जाने प्रस्ताव गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले उक्त प्रस्ताव पेश गरेका हुन् ।
केन्द्रीय सदस्य ढुङ्गानाले पार्टीले ‘जेन-जी’ आन्दोलनको भावनालाई सम्मान गर्दै युवाको प्रतिनिधित्व सुनिश्चित गर्न विधान नै संशोधन गर्नुपर्नेमा आवश्यकता औल्याए ।
उनले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै निर्वाचन अगावै पार्टीलाई रूपान्तरण गरेर जानुपर्नेमा जोड दिए ।
‘जेन-जी’ आन्दोलनलाई सम्मान, २५% कोटा प्रस्ताव
केन्द्रीय सदस्य ढुङ्गानाले ‘जेन-जी’ आन्दोलनले मुलुक बनाउन चाहने युवाहरूको जोश देखाएको भन्दै कांग्रेसले त्यसलाई उच्च सम्मान गर्नुपर्ने बताए। “हिजो ‘पोलिटिक्स इज अ डर्टी गेम’ (राजनीति फोहोरी खेल हो) भन्नेहरू पनि राजनीति मार्फत नै मुलुकको विकास गर्नुपर्छ भनेर आउनु लोकतन्त्रका लागि सकारात्मक विषय हो,” उनले भने ।
उनले पार्टीको विधान संशोधन गरेरै भएपनि पार्टीका समितिहरू र आधिकारिक उम्मेदवारको रूपमा कम्तिमा २५ प्रतिशत युवा कोटा सुरक्षित गर्नुपर्ने माग गरे । साथै, पार्टीको क्रियाशील सदस्यताको २० प्रतिशत ३० वर्षमुनिका युवाहरूलाई वितरण गरिनुपर्ने र पार्टीमा रूपान्तरणका लागि ‘रिटायरमेन्ट’ तथा ‘कुलिङ पिरियड’को व्यवस्था लागू गर्नुपर्नेमा उहाँले जोड दिए ।
भ्रष्टाचारमा शून्य सहनशीलता र तीन गुना बिगो
भाद्र २३ गतेको ‘जेन-जी’ आन्दोलनलाई भ्रष्टाचार विरुद्धको युवा चाहनाको रूपमा व्याख्या गर्दै उनले २४ गतेको घटनामा भने घुसपैठ भएका कारण क्षति भएको दावी गरे ।
“भ्रष्टाचारमा पार्टीले शून्य सहनशीलताको नीति लिनुपर्छ,” उनले भने, “भ्रष्टाचारको मुद्दा पर्दा पार्टीबाट निलम्बन गर्ने र ठहरिएमा तीन गुना बढी बिगो रकम बुझाउने गरी कानुनमै उल्लेख गर्न पार्टीले संकल्प प्रस्ताव तयार गर्नुपर्छ।”
निर्वाचन र अदालतको फैसला
केन्द्रीय सदस्य ढुङ्गानाले प्रतिनिधि सभा विघटन पश्चात नयाँ सरकार गठन भएर निर्वाचनमा जानु समय सान्दर्भिक माग भएको बताए।
“कांग्रेस निर्वाचनका लागि तयार हुनुपर्छ,” उनले भने, “तर विधिको शासन र संवैधानिक कानुन मान्ने देशमा विचाराधीन विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको फैसला जे-जस्तो आएपनि त्यसलाई आत्मसात गरेर पार्टी अगाडि बढ्नुपर्छ।”
महाधिवेशनबारे स्पष्ट धारणा
पार्टीको पन्ध्रौं महाधिवेशनको सन्दर्भमा बोल्दै उनले निर्वाचन अघि कि पछि भन्ने विषयमा पार्टीलाई बन्दी बनाउन नहुने बताए । उनले ‘जेन-जी’ आन्दोलनपछिको भावनाअनुसार आम कांग्रेस कार्यकर्ताहरू पार्टी पुनर्गठित र रूपान्तरित भएर मात्र निर्वाचनमा जान चाहेको धारणा राखे ।
“विगतमा निर्वाचनअघिका महाधिवेशनले पारेका असरहरूको सूक्ष्म अनुसन्धान हुनुपर्छ,” ढुङ्गानाले भने, “आम कार्यकर्ताको भावनालाई समेटिने गरी पुनर्गठित र रूपान्तरित काङ्ग्रेसका साथ निर्वाचनमा जानुपर्छ।”
ढुंगानाले महाधिवेशनका लागि पार्टीमा एकताको सन्देश दिने गरी स्पष्ट कार्यतालिका आधिकारिक रूपमा तयार गरी केन्द्रीय समितिले निर्णय गर्नुपर्छ भन्नेमा जोड दिएका छन् ।






