
भक्तपुर । भक्तपुर-१ दुधपाटीस्थित प्रादेशिक अस्पताल भक्तपुर अस्पतालमा डायलासिस सेवा उद्घाटन भएको छ । मिर्गौलाले काम नगर्ने बिरामीका लागि अत्यावश्यक यो डायलासिस सेवा बुधबार बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगरले उद्घाटन गरेका छन् ।
बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले खरिद गरी पाँच थान डायलासिस मसिन भक्तपुर अस्पताललाई उपलब्ध गराएको हो ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको नर्सिङ तथा सामाजिक सुरक्षा बिभागले सूचीकृत गरी अनुमति दिएसंगै डायलासिस सेवा शुरु गर्ने भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले बताएका छन् ।
“दैनिक ३ सिफ्टसम्म सेवा सञ्चालन गरी एकैदिन ४५ जना मिर्गौला फेल भएका बिरामीलाई डायलासिस सेवा प्रवाह गर्न सकिने निमित्त निर्देशक डा भट्टको भनाइ छ ।
भक्तपुर अस्पतालकै परिसर भित्र “शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र” भएतापनि यसले मिर्गौला रोगीको चाप धान्न सकेको छैन । प्रत्यारोपण केन्द्रले डायलासिसको समय नदिएपछि दैनिक दर्जनौं बिरामी निजी क्लिनिकमा डायलासिस गराउन बाध्य छन् ।
निजीमा एकपटक डायलासिसको सामान्य शुल्क: रु २ हजार ५ सयदेखि ५ हजार ५ सय सम्म पर्ने गर्दछ ।
महिनामा औसत १० देखि १२ पटकसम्म डायलासिस गरिनुपर्ने भएकाले निजीमा नियमित उपचार गराउँदा मासिक खर्च औषत रु ५० हजार सम्म खर्च हुनेगर्दछ ।
भक्तपुर अस्पतालमा भने डायलासिस सेवा नि:शुल्क हुने बागमती प्रदेश सभाका पूर्व सदस्य समेत रहेका अस्पताल बिकास समितिका अध्यक्ष शशीजङ्ग थापाले बताए ।
पछिल्लो समय भक्तपुर अस्पतालले गरिरहेको विकास अन्य अस्पतालका लागि समेत सिकाइको विषय बनेको अस्पतालकी पूर्व निर्देशक समेत रहेकी बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतमले बताएकी छन् ।
“न्युनतम सेवा मापदण्ड अनुसार बि ग्रेडका अस्पतालमध्ये देशकै सर्वोत्कृष्ट अस्पताल बनेको भक्तपुर अस्पताल प्रदेशले गर्व गर्न लायक अस्पतालको रुपमा विकास भइरहेको छ ।” उनले भनिन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगरले आफू भक्तपुरकै सांसद भएकोले पनि यसको प्रगति देख्दा खुशी लाग्ने बताए ।

प्रदेश सरकारले अस्पताल भवनका लागि यो वर्ष तीन करोड बिनियोजन गरेको र त्यसलाई बहुवर्षे योजनाका रुपमा अघि बढाइने उनले बताएका छन् । त्यतिमात्र होइन, आफूले ब्यक्तिगत रुपमै पनि भवन निर्माणमा सहयोग गर्न सक्ने निजी र गैरसरकारी क्षेत्रका सम्भावित दाताहरु खोजिरहेको समेत उनले खुलासा गरे ।
“भक्तपुर अस्पतालसंग केही वर्षमै बहुतले सुविधा सम्पन्न भवन हुनेछ, जसले सेवा प्रवाह थप प्रभावकारी बन्ने निश्चित छ ।” मन्त्री थापामगरले भने ।
उनले बागमती प्रदेश सरकार मातहत रहेका सय शैया र सो भन्दा बढी क्षमताका अस्पतालहरुको आफ्नै नर्सिङ शिक्षालय बनाउने प्रक्रिया अघि बढाइएको पनि बताएका छन् ।
उद्घाटन समारोहमा प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख नरेन्द्रकुमार झा, स्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अन्जना खड्का, आयुर्वेद तथा बैकल्पिक चिकित्सालय नुवाकोटका प्रमुख डा नरेन्द्रप्रसाद गिरी, अस्पताल विकास समितिका पूर्व अध्यक्ष रमण कायस्थ लगायतको आतिथ्यता रहेको थियो ।








