भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–स्तरीय नृत्य प्रतियोगितामा दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुल प्रथम भएको छ। चाँगुनारायण प्याब्सनले मंगलबार आयोजना गरेको प्रतियोगितामा नगरका विभिन्न विद्यालयका विद्यार्थी समूहले प्रतिस्पर्धात्मक प्रस्तुती दिएका थिए। तीमध्ये गोल्डेन सुनगाभाका विद्यार्थीले प्रस्तुत गरेको समूह नृत्य मौलिकता, तालमेल, अभिव्यक्ति र प्रस्तुतिको प्रवाहका आधारमा सर्वाधिक अंक प्राप्त गर्दै शीर्ष स्थानमा पर्न सफल भएको हो।
प्रतियोगितामा मित्रश्री विद्यालय दोस्रो र नविन स्कुल तेस्रो स्थानमा चयन भएका छन्। मूल्यांकनका क्रममा नृत्यको विषयवस्तु, वेशभूषा, सांस्कृतिक सन्देश, समूह समन्वय तथा समय व्यवस्थापनलाई मुख्य आधार बनाइएको थियो। विद्यालयहरूले आफ्ना विद्यार्थीलाई स्थानीय संस्कृति, कला र सिर्जनात्मकतालाई नृत्यमार्फत प्रस्तुत गर्न प्रेरित गर्दै आएको आयोजकहरूको भनाइ छ।
नगरस्तरीय प्रतियोगिताबाट छनोट भएका विद्यालयहरूले अब जिल्ला–स्तरमा प्रतिस्पर्धा गर्नेछन्। भक्तपुरका चारवटै नगरपालिकाबाट गरी १६ वटा नृत्य समूह जिल्ला–स्तरीय प्रतियोगितामा सहभागी हुने तयारी भइरहेको चाँगुनारायण प्याब्सन स्रोतले जानकारी दिएको छ। जिल्ला–स्तरको प्रतियोगिता स्थानीय प्रतिभा पहिचान, कला संरक्षण तथा विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा विकास गराउने उद्देश्यसहित सञ्चालन गरिँदै आएको छ।
गोल्डेन सुनगाभा विद्यालयका अध्यक्ष लिलानाथ निरौलाले विद्यार्थीहरूको मेहनत, तयारी र सांस्कृतिक अभिव्यक्तिप्रतिको प्रतिबद्धताले विद्यालयलाई पहिलो स्थान दिलाउन सफल भएको बताए। उनका अनुसार विद्यालयले शैक्षिक गुणस्तरसँगै कला, खेलकुद, नेतृत्व र अतिरिक्त क्रियाकलापमा निरन्तरता दिएको कारण विद्यार्थीहरू विभिन्न प्रतियोगितामा अगाडि देखिन थालेका छन्।
उनले यस्ता प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास बढाउने, व्यक्तित्व विकासमा सहयोग पुर्याउने र सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार गोल्डेन सुनगाभा विद्यालय आगामी जिल्ला–स्तरको प्रतियोगितामा अझै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित तयारीमा जुटिसकेको छ।



