भक्तपुरमा १० कक्षाकी विद्यार्थी सुस्मिता बनिन् एक दिने प्रधानाध्यापक

भक्तपुर । भक्तपुरको एउटा विद्यालयले आफ्नै एक विद्यार्थीलाई प्रधानाध्यापक बनाइदिएको छ । कक्षा १० मा अध्ययनरत एक छात्राले उक्त जिम्मेवारी पाएकी हुन् । तर, उनी सधैंका लागि भने प्रधानाध्यापकको पदमा पुगेकी होइनन् । विद्यालयले उनलाई एक दिनका लागि प्रिन्सिपलको कुर्सी सुम्पिएको हो ।

चाँगुनारायण–२ दुवाकोटस्थित गोल्डन सुनगाभा ङङ्गलिस बोर्डिङ्ग स्कुुलमा यस्तो अनौठो घटना भएको हो । एक दिनको लागि कक्षा १० मा अध्यनरत विद्यार्थी

सुस्मिता शाही ठकुरी प्रधानाध्यापक बनेकी हुन् । शुक्रबार विद्यार्थीबाटै चुनिएकी शाही एक दिनको लागि प्रधानाध्यापक बनेर विद्यालयको प्रशासन चलाइन । त्यतिमात्र होइन, विद्यालयमा शुक्रवार शिक्षक समेत विद्यार्थी नै भएका थिए ।

नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुको विद्यार्थीसँग एक दिन, कार्यक्रम आयोजना गरिएको र सोही बमोजिम शुक्रबार एउटा अभ्यास सम्पन्न भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख दीपक खड्काले बताए । कार्यक्रमको लागि विद्यार्थीहरुबाट नै एक दिनको लागि कक्षा १० मा अध्यनरत विद्यार्थी सुस्मिता शाही प्रधानाध्यापकको लागि चुनिएकी थिइन । कक्षा प्रे–ग्रुप देखि कक्षा १० सम्म नियमितरुपमा अध्यापन गराउँदै आएका शिक्षकहरुलाई कक्षागत तथा विषयगत शिक्षक प्रतिनिधि कक्षा ८, ९ र १० मा अध्यनरत विद्यार्थीहरुबाट छनोट गरी विद्यालयको नियमित कार्य सञ्चालन गरिएको थियो । त्यसै गरि विद्यालयको व्यवस्थापकीय तथा प्रशासनिक विभागमा पनि विद्यार्थी प्रतिनिधि छनोट गरि कार्यसम्पादन गरिएको बताइएको छ । विद्यालयले ‘विद्यार्थीहरुको विद्यार्थीसँग एक दिन’कार्यक्रमबाट विद्यार्थीहरुको जिम्मेवरी बहन गर्न सक्ने सिप विकास होस् भन्ने उद्देश्य राख्नुका साथै विद्यार्थीहरु विद्यालयमा कस्तो प्रशासन र सिकाइ वातावरण चाहन्छन भन्ने पनि थाहा हुने विद्यालयका अध्यक्ष लिला नाथ निरौलाले बिश्वास ब्यक्त गरे ।

किताबी ज्ञानसँग आधारित शिक्षा प्रणालीमा केहि नयाँ र फरक उद्देश्य राखी अन्य विद्यालयभन्दा फरक मौलिक र समय सापेक्ष शिक्षा प्रदान गर्ने उदेश्यले व्यवाहारिक एवं समय सान्दर्भिक नेतृत्व विकास गर्ने शिक्षा प्रदान गर्न कार्यक्रम संचालन गरिएको र यस्ता अन्य सिर्जानात्मक अतिरिक्त कार्यहरु सञ्चालन गर्दै जाने विद्यालयका प्रधानाध्यापक महेश चन्द्र गौतमले बताए छन् ।

एक दिनको जिम्मेवारी पाएका विद्यार्थीहरु पनि निकै खुशी देखिएका थिए । उनीहरूले शिक्षक भएपछि शिक्षकहरुप्रति थप सम्मान बढेको बताउदै यसले आपसी सम्बन्ध अझ मजबुत बनाएको बताए । कार्यक्रमबाट विद्यार्थीहरुले रमाइलो अनुभव भएको प्रतिक्रिया दिएका छन् ।