गोल्डेन सुनगाभाका ४३ विद्यार्थीको बिदाइ

भक्तपुर । चाँगुनारायण–२, दुवाकोटस्थित गोल्डेन सुनगाभा इंग्लिश बोर्डिङ स्कुलले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका आफ्ना १७ औं ब्याचका ४३ जना विद्यार्थीहरूलाई बिदाइ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। सो अवसरमा विद्यालयमा नवआगन्तुक १०० भन्दा बढी विद्यार्थीहरूको औपचारिक स्वागत समेत गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति -कपल डान्स, सिंगल डान्स, ग्रुप डान्स, तथा लाइभ दोहोरी ब्याटल प्रस्तुत गर्दै माहोललाई थप रमाइलो र आकषर्ण बनाएका थिए ।

विद्यालयले बिदाइ हुँदै गरेका विद्यार्थीहरूलाई फोटो सहित प्रिन्ट गरिएको कप उपहार स्वरूप प्रदान गरेको छ भने नवआगन्तुक विद्यार्थीहरूलाई मिठाइ बाँडेर स्वागत गरिएको थियो। 

विद्यालयका प्रधानाध्यापक महेश चन्द्र गौतमले बिदाइ हुने विद्यार्थीहरूलाई भविष्यमा सफलता, समृद्धि र सुखद जीवनको शुभकामना व्यक्त गर्नुका साथै नयाँ विद्यार्थीहरूलाई विद्यालयमा स्वागत गरेका थिए ।

प्रधानाध्यापक गौतमले भने “संस्कारयुक्त शिक्षा नै सिप आर्जनको पहिलो खुड्किलो हो,” । उनका अनुसार यदि शिक्षा प्रणालीलाई नै संस्कारयुक्त बनाउन सकिएमा गाउँठाउँमै दक्ष जनशक्ति उत्पादन गरी देशको समग्र विकासमा टेवा पुर्‍याउन सकिने बताए ।

उनले बालबालिकालाई प्रारम्भदेखि नै संस्कारसहितको शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै भने , “यस्तो शिक्षाले मात्र उनीहरूभित्र सिपको विकास गर्छ र समाज रूपान्तरणमा योगदान पुर्याउन सक्षम बनाउँछ।”

पूर्व एसईई ब्याच २०८१ की प्रतिनिधि सुस्मिता शाही ठकुरीले विद्यालय जीवनलाई यादगार र उपलब्धिमूलक बनाइदिएकोमा विद्यालयलाई धन्यवाद ज्ञापन  गरेकी थिइन् ।

कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप (ECA) संयोजक दीपक कुमार खड्काले यस शैक्षिक सत्रमा विद्यालयमा १०० भन्दा बढी नयाँ विद्यार्थी भर्ना भइसकेको जानकारी दिए । अहिले विद्यालयमा ८ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उनले बताए ।

विद्यालयले विद्यार्थीहरूलाई कितावी शिक्षा मात्र नभई सिर्जनात्मकता, नेतृत्व र सामाजिक जिम्मेवारीको विकासमा समेत सशक्त भूमिका निर्वाह गर्न सिकाएकाे कुरा विद्यालयका अध्यक्ष लिलानाथ निरौलाले बताएका छन् ।

Golden Sungabha English School, 17Th SEE Batch
Golden Sungabha English School, 17Th SEE Batch