प्याब्सनको जिल्लास्तरीय लोकनृत्य प्रतियोगितामा मित्रश्री पाठशाला पहिलो

Mitrashree pathshala
Mitrashree pathshala

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुर जिल्ला शाखाले आयोजना गरेको जिल्ला स्तरीय अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा मित्रश्री पाठशाला पहिलो भएको छ ।

शुक्रवार नयाँ थिमिस्थित यचु बैंक्वेटमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा सहभागी एक दर्जन बढी विद्यालयलाई पछि पार्दै मित्रश्री पहिलो बन्न सफल भएको हो ।

चाँगुनारायण नगरस्तरीय प्रतियोगितामा दोश्रो भएर फाइनलमा प्रवेश गरेको दुवाकोटस्थित मित्रश्रीले जिल्ला स्तरीय प्रतियोगितामा भने सर्वोत्कृष्ट नृत्य प्रदर्शन गर्दै प्रथम पुरस्कार हात पार्दा विद्यार्थीहरु दंग देखिए । आफूहरुको आत्मबिश्वास, नृत्य प्रशिक्षकको मिहिनेत र प्रधानाध्यापक दीपक बिष्ट लगायतको हौसलाले पहिलो बन्ने लक्ष प्राप्त भएको सहभागी विद्यार्थीहरुले बताए ।

प्रतियोगितामा ट्रीस्टार इ. स्कूल दोश्रो र माउन्ट भ्यालीले तेस्रो स्थान प्राप्त गर्न सफल भए । नगरपालिका स्तरीय प्रतिस्पर्धाबाट उत्कृष्ट चार-चार वटा विद्यालय गरी १६ विद्यालयका समूह प्रतिस्पर्धामा सामेल भएका थिए ।

बिजेताहरु ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा थप तीन विद्यालयका समूहलाई सान्त्वना पुरस्कार समेत प्रदान गरिएको थियो ।

पहिलो दोश्रो र तेस्रो हुने विद्यालयको समूहले प्याब्सनको क्षेत्रीय प्रतियोगितामा भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्ने जिल्ला अध्यक्ष राजन कस्पालले जनाएका छन् । विद्यार्थीहरुको प्रतिभा उजागर गर्न, लोक नृत्यको जगेर्ना गर्न र एकआपसमा अपनत्व र सामूहिक भावना बिकास गर्न प्रतियोगिता सफल भएको उनको भनाइ छ ।