
भक्तपुर । भक्तपुरकै कान्छो नगरपालिका चाँगुनारायण नगरपालिकालाई देशकै पहिलो ‘योग नगर’ घोषणा गरिएको छ । चाँगुनारायण नगरपालिकाद्वारा आइतबार आयोजित विशेष समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चाँगुनारायणलाई योग नगर घोषणा गरेका हुन्।
चाँगुनारायण-७ खरीपाटीमा आयोजित योगनगर घोषणा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले शारीरिक र मानसिक स्वास्थ्यको लागि योग महत्वपूर्ण रहेको बताए । योग नगर घोषणासँगै चाँगुनारायणले भौतिक र आध्यात्मिक क्षेत्रमा नयाँ पहिचान बनाउने उनले विश्वास व्यक्त गरे।
यस क्षेत्रबाट बागमती प्रदेश सभा सदस्य समेत रहेका वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चाँगुनारायणलाई योग पर्यटनसँग जोड्न सके पर्यटन प्रवर्धनमा थप योगदान गर्न सकिने बताए।
कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले नगरवासीहरूको स्वास्थ्य, सकारात्मक सोच र समृद्धिका लागि योगलाई प्राथमिकतामा राखेको प्रष्ट पारे । “योग नगर’ घोषणा कागजी घोषणा मात्र होइन ।” उनले भने, “नगरका प्रत्येक वडा र टोल-टोलमा योग शिविर र योग शिक्षालाई अभियानकै रूपमा सञ्चालन गरिनेछ ।”
योग नगर घोषणा भएको चाँगुनारायणमा नियमित योग तथा ध्यान कार्यक्रम, स्वस्थ र स्वच्छ वातावरण, मानसिक स्वास्थ्यमा ध्यान, प्राकृतिक तथा अनुशासित जीवनशैली, विद्यालय र समुदायमा योग शिक्षा तथा खुला पार्क, ध्यान केन्द्र र व्यायाम स्थल थप गर्दै जाने नगरप्रवक्ता जनक खत्रीले जानकारी गराए।
घोषणा समारोहमा प्रतिनिधि सभा सदस्य गुरु बराल, स्थानीय जनप्रतिनिधिहरू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य,
पातञ्जल योग समिति नेपालका राष्ट्रिय अध्यक्ष सुदर्शन सुवेदी, योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वजु, ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका उपाध्यक्ष बिके रामसिंह, जीवन विज्ञानका सुरेन्द्रमान विजुक्छे लगायत सयौँ योग साधकहरू सम्मिलित थिए।
योग गुरु बालमुकुन्द सुवालले सहभागीहरूलाई योग साधना समेत गराएका थिए। आलोचकहरूले भने बिना पूर्वाधार लहडको भरमा योगनगर घोषणा गरिएको दाबी गर्दै यसको स्थायित्वप्रति शङ्का व्यक्त गरेका छन्। योगसाधक एवं स्थानीय अभियन्ता नवराज काफ्ले भने सामूहिक सहकार्यबाट योग नगर घोषणालाई व्यवहारिक र सफल बनाउनुपर्नेमा जोड दिन्छन्।







