भक्तपुरमा ट्र्याक्टर दुर्घटना : दुई मजदुरको मृत्यु, १० घाइते

 भक्तपुर । चाँगुनारायण–८ स्थित गुम्बा नजिक बुधबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार कलमसी क्षेत्रको एक होटलमा ढलानको काम सम्पन्न गरी मजदुरहरूलाई लिएर कमलबिनायकतर्फ फर्किरहेको मिक्स्चर तान्ने ना ५ च २८४७ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो।

१२ जना सवार उक्त ट्र्याक्टर ओरालो सडकमा गुडिरहेको बेला ब्रेक फेल भई अनियन्त्रित भएर सडकमै पल्टिएको बताइएको छ। दुर्घटनामा ट्र्याक्टरले च्यापिँदा दुई मजदुरको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्।

मृत्यु हुनेमा सिनामंगल बसोबास गर्ने २५ वर्षीय विजय राई र २६ वर्षीय हेमबहादुर नेपाली रहेका छन्। उनीहरूको स्थायी ठेगाना भने हालसम्म खुल्न सकेको छैन।

दुर्घटनामा घाइते भएका १० जनालाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी भक्तपुर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

ट्र्याक्टर चालक सर्लाहीका २४ वर्षीय वीरेन्द्रकुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमार्फत घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।