जलवायु परिवर्तनको स्थानीय असरलाई विश्वब्यापी नीतिमा समेट्न सरोकारवालाको जोड

ललितपुर । जलवायु विज्ञ तथा वातावरण विदहरुले जलवायु परिवर्तनले पारेको स्थानीय असरलाई विश्वव्पायी नीतिमा समेट्न एकताबद्ध हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

“जलवायु, ऊर्जा र पर्यटन: जहाँ हिमाली आवाज विश्वसामु पुग्छ” भन्ने नाराका साथ  विश्व वातावरण दिवस २०२६को अवसरमा यूएनडीपी नेपालको साझेदारीमा साथसाथै फाउन्डेसनले शुक्रबार ललितपुरमा आयोजना गरेको हिमालय र वातावरण सम्मेलन २०२६ मा धारणा राख्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले जलवायु परिवर्तनले वातावरणमा परेको असर र मानवीय जीवनशैलीमा पुर्‍याएको नकारात्मक प्रभावका बारेमा साथसाथै जस्ता संस्था, सञ्चारकर्मी लगायतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

“जलवायु परिवर्तनको समस्याका बिषयहरु मिडियामार्फत आउनु पर्यो, जनताका समस्या र जनसरोकारका बिषयमा यथार्थपरक कुरा सञ्चार माध्यममा समेटिनु पर्छ, जसले नीतिगत व्यवस्थाका लागि सहयोग पुग्छ।” उनले भने ।

त्यस्तै, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव सवनम सिवाकोटीले जलवायु परिवर्तनको कारणले हिमाली क्षेत्रमा याक चौरी पालन गर्ने खर्क, जीवनशैली र उत्पादकत्वमा असर पारेको बताउँदै त्यहाँका नागरिकहरुको जीवनस्तर उकास्नका लागि पर्यटन र कृषिमा सहयोग गरेर जीविकोपार्जनमा सहयोग पुर्‍याउनुपर्ने धारणा राखे।

उनले जलवायु परिवर्तनको असरले कृषिसंग सम्बन्धित रहेर अनुसन्धान भएको तर पशुपन्छीमा पारेको असरका बिषयमा अनुसन्धान हुन आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले अनुसन्धानले देखाएको असरलाई ध्यान दिएर जलवायु न्यायका क्षेत्रमा काम गर्न ध्यान दिनुपर्नेमा जोड दिए।

सगरमाथा आरोही तेन्जिङ डेभिड शेर्पाले जलवायु परिवर्तनका कारण पर्वतारोहीहरुलाई समेत अत्यन्तै प्रभावित पारेको बताउँदै पर्वतारोहण गर्न आउनेहरूमा नकारात्मक प्रभाव पारेको बताए।

नदि विज्ञ डाक्टर अरुण भक्त श्रेष्ठले विश्वव्यापी रुपमा जलवायु परिवर्तन, वायु प्रदुषण, जैविक विविधतामा आएको संकटका कारण पृथ्वी र वायुमण्डलको तापक्रम बढ्दै गएको जानकारी गराउँदै उच्चहिमाली क्षेत्र, हिमनदीहरुमा संकट पैदा भएको प्रष्ट पारे।

उनले जलवायु परिवर्तनका कारण भारि बर्षा हुने, भूमि मुनि जमेेर रहेको माटो पग्लिएर भूक्षय हुने कार्यले मानव तथा प्राणी जगतमा संकट सृजना गरेको वताउँदै सन् २०१२ देखि २०२३ सम्म हिमनदी विस्फोटका कारण धेरै ठूलो प्राकृतिक, धनजन र भौतिक क्षति पुगेको जानकारी गराए ।

जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको स्थानीय समस्यालाई विश्वव्यापी नीतिगत व्यवस्थामा समेट्नका लागि हामीले जोडदार आवाज उठाउनुपर्नेमा उनको जोड थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सरिताश्री ज्ञवालीले वातावरणमा पर्ने नकारात्मक असर रोक्नका लागि प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै वातावरणीय न्याय, संरक्षण र उपयोगका लागि सबैले एकअर्कामा समन्वय, सहकार्य र जनचेतनाका माध्यमबाट अगाडि बढ्नुपर्ने बताइन। उनले भावी पुस्ताका लागि जलवायु संरक्षण अनिवार्य रहेको बताउँदै हिमालसंग मानवीय जीवन जोडिएको धारणा राखिन ।

उर्जा विज्ञ कुशल गुरुङले हिमालय क्षेत्रको वातावरणीय प्रणालीको संरक्षणका लागि विद्युतको उपयोगलाई अभिबृद्धि गर्नुपर्नेमा जोड दिंदै केन्द्रीय विद्युत प्रशारण पुग्न नसकेको ठाउँमा लघु जलविद्युत र सौर्य उर्जालाई उपयोग गर्नेतीर ध्यान दिनुपर्नेमा जोड दिए।

साथसाथै फाउन्डेशनका अध्यक्ष प्रजिता कार्कीले महिलाहरूको नेतृत्वमा सञ्चालित यस गैर-नाफामूलक संस्थाले जलवायु न्यायको विषयमा सञ्चारमाध्यम-आधारित पैरवी, सहभागितामूलक अनुसन्धान तथा समाजका सबै तह र क्षेत्रलाई समेट्ने दृष्टिकोणमार्फत कार्य गर्दै आएको बताउँदै जलवायु परिवर्तन तथा वातावरणीय क्षयीकरणबाट प्रत्यक्ष रूपमा प्रभावित महिला, युवा तथा संवेदनशील हिमाली समुदायहरूको आवाजलाई सशक्त रूपमा उठाउनेतर्फ संस्था केन्द्रित रहेको जानकारी गराइन ।

साथसाथैका उपाध्यक्ष डाक्टर सिद्धार्थ बज्र बज्राचार्यले जलवायु वैज्ञानिकहरू, ऊर्जा विज्ञहरू, संरक्षणकर्मीहरू, पर्वत तथा पर्यटन क्षेत्रका विशेषज्ञहरू, नीति निर्माताहरू, सरकारी प्रतिनिधिहरू तथा विकास साझेदारहरूको सक्रियतामा व्यक्तिमा  रहेको ज्ञान, अनुभव र दृष्टिकोणका माध्यमबाट जलवायु, उर्जा, पर्यटन र वातावरणीय दिगोपनाका बिषयमा हुने छलफलले महत्त्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सरोकारवालाहरुले हिमालको संरक्षण, जलवायु परिवर्तनको असरका कारण हिमालय क्षेत्रमा बसोबास गर्ने समुदायको जीवनशैलीमा परेको असर न्युनिकरण र हिमनदीहरुको संरक्षणका लागि विश्वव्यापी नीतिगत व्यवस्थामा समावेश गर्दै जलवायु न्याय र जलवायु परिवर्तनमा विकसित देशहरूले पुर्‍याएको नकारात्मक असरले नेपालले भोग्नुपरेको क्षतिको परिपूरणको लागि एकताबद्ध पैरवी र प्रयासको आवश्यकता रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, नेपालका लागि विश्व वन्यजन्तु कोषका देशीय प्रतिनिधि डाक्टर घनश्याम गुरुङ, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर वेदमणि दाहाल, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका जलवायु परिवर्तन र विपद व्यवस्थापन विज्ञ दिपक के.सी. र जलवायु सरोकार अभियान्ता टासी ल्हाजोम सहितको संग्लग्नतामा “जैविक विविधता, जलवायु परिवर्तनको परिस्थितिमा पर्यटन र जीविकोपार्जन” शीर्षकमा समूहगत छलफल समेत भएको थियोे।