भक्तपुर । चाँगुनारायण नगरपालिका–४ मा अलपत्र अवस्थामा रहेका आठ वटा दुधे बाच्छाहरूको उद्धार गरिएको छ।
चाँगुनारायण-४ मा अलपत्र पारी छाडिएका भर्खरै जन्मेका देखि एक महिना उमेरका बाच्छाहरूको ज्यान जोखिममा परेको जानकारी पाएपछि स्थानीय सामाजिक अभियन्ता दिनेश खनालको पहलमा उद्दार तथा ब्यवस्थापन गरिएको हो ।
पूर्व जनप्रतिनिधि समेत रहेका खनालले जनाए अनुसार बाच्छाहरू भोक र चिसोले अत्यन्त नाजुक अवस्थामा फेला परेका थिए। खनाल परिवारले तातोपानी र नुनपिठोको मिश्रण खुवाई भोकप्यास मेट्न प्रयास गरिएको थियो ।
“स्थानीय गोकर्ण पुरीमार्फत काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने गोठाटारस्थित पशु उद्धार केन्द्रका अभियन्ता उत्तम पुडासैनीसँग समन्वय गरी ती अवोध बाच्छाहरुलाई सकुशल उद्धार र आश्रयको ब्यवस्था गरेका छौं ।” खनालले भने ।
चाँगुनारायण नगरपालिकालाई आफ्नै नगरभित्र ‘काञ्जी हाउस’ (बेवारिसे पशुको उद्धार केन्द्र) स्थापना गर्न समेत खनालले ध्यानाकर्षण गराएका छन् ।
सो केन्द्र नहुँदासम्म गोठाटारस्थित यस्ता संस्थाहरूलाई आर्थिक तथा भौतिक सहयोग गर्न समेत नगरपालिकालाई पशु अधिकारकर्मीहरुले आग्रह गरेका छन् ।
गाईको बाच्छालाई दुध ख्वाएर राख्नु साटो सडक र जङ्गलमा लगेर छोड्ने प्रवित्तिले समाजको दया, करुणा र मानवीय पक्षमाथि समेत प्रश्न उठेको छ ।
गाईको दूध हत्याउन उसकै सन्तानलाई फाल्ने प्रवित्ति निरुत्साहित गर्नपर्ने र सोका लागि स्थानीय सरकारले कडा कानुन ल्याउनुपर्ने पशु अधिकारकर्मीहरु बताउँछन् ।







