चाँगुनारायणमा चितुवाको आक्रमणबाट युवक घाइते

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–७, गुरुङटारस्थित बाल्मिकेश्वर सडक खण्डमा बिहीबार राति चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन्।

राति साढे १० बजेतिर आफ्नो व्यवसायबाट मोटरसाइकलमा घर फर्कँदै गरेका स्थानीय सुमन काफ्लेमाथि अकस्मात् चितुवाले आक्रमण गरेको वडाध्यक्ष श्यामकाजी नयाँजूले ननस्टपखबरलाई बताए ।

“चितुवासँग जम्काभेट हुँदा आक्रमण भएको हो। घाइते काफ्लेलाई तत्काल भक्तपुर अस्पताल पुर्याइएको छ। घाउचोट भए पनि अहिले उहाँको अवस्था सामान्य छ,” वडाध्यक्ष नयाँजूले भने ।

वडाध्यक्ष नयाँजूले राति अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्कनैपरे समूहमा सावधानीपूर्वक हिँड्न सबैलाई आग्रह पनि गरेका छन् ।

पछिल्लो समय चाँगुनारायण क्षेत्रमा कुकुरको सिकार गर्न चितुवा पल्केकोले गाउँमा खतरा बढेको स्थानीय बताउँछन् ।

तस्बिर : सांंकेतिक