काठमाडौँ । पछिल्लो केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थुप्रै सडक खण्डहरूमा यातायात प्रभावित भएको छ।
कोशी प्रदेशको भोजपुरमा मध्य पहाडी लोकमार्ग बाढीका कारण प्रभावित भएको छ, जहाँ अहिले वैकल्पिक बाटो समेत प्रयोग गरी एकतर्फी यातायात सुचारु गरिएको छ। यस्तै, इलामको मेची राजमार्गमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ, यद्यपि त्यहाँ वैकल्पिक बाटो उपलब्ध छ।
बागमती प्रदेशमा सबैभन्दा बढी सडकहरू प्रभावित भएका छन्। बीपी राजमार्ग सम्भावित बाढीका कारण राति १८:०० बजेदेखि बिहान ०४:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। दिउँसोको समयमा भने परिस्थिति हेरेर गाडी चल्न दिइएको छ।
कान्ति लोकपथ पनि बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। भोटेकोशी गाउँपालिकाको कोदारी र लिपिङमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
रसुवाको त्रिशुली-मैलुङ-स्याफ्रुबेसी सडक, नुवाकोटको मध्य पहाडी लोकमार्ग र टोखा-छहरे सडक खण्डका साथै धादिङको दामन पाख्रिन सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
गण्डकी प्रदेशका बागलुङ (कालीगण्डकी करिडोर), मुस्ताङ (बेनी-जोमसोम) र मनाङ (चामे-बेसीसहर) सडक खण्डमा पहिरोका कारण यातायात एकतर्फी मात्र सुचारु छ। बागलुङमा दुईतर्फी सडक खुलाउन अझै केही समय लाग्ने देखिएको छ।
रोल्पाको सहिदमार्ग (घोराही-थवाङ-रुकुम) पहिरोका कारण पूर्ण रूपमा ठप्प छ। कर्णाली प्रदेशको रुकुम पश्चिममा बाढीका कारण जाजरकोट-डोल्पा सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। पाल्पाको सिद्धार्थ राजमार्ग भने पहिरो पन्छाएपछि अहिले सुचारु भइसकेको छ।








