दुवाकोटमा ३३ जनाले गरे रक्तदान

भक्तपुर । लियो क्लब अफ भक्तपुर केएमसी, नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखा र चाँगुनारायण नगरपालिका–२ को संयुक्त आयोजनामा दुवाकोटस्थित केएमसी अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । सो रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।

लियो क्लब अफ भक्तपुर केएमसीका अध्यक्ष डा. आकाश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष सोमप्रसाद प्रधानले नियमित रक्तदान अभियानले समाजमा सहयोग र सेवा भावना बढाउने उल्लेख गर्दै निरन्तर यस्तो अभियान अघि बढाउने प्रतिबद्धता प्रकट गरे ।

कार्यक्रममा चाँगुनारायण–दुवाकोट–झौखेल खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रद्युम्न पोखरेल, सभापति मन्दिरा कार्की, लायन्स क्लब अफ भक्तपुर रुद्राक्षका संस्थापक अध्यक्ष तथा टियू लायन्स ब्लड ट्रान्सफ्युजन एण्ड रिर्सच सेन्टरका संयोजक धर्मभक्त श्रेष्ठ, केएमसी दुवाकोटका अस्पताल निर्देशक डा. विनिता प्रधान, केएमसी डेन्टल विभाग निर्देशक डा. भागवत भट्टराईलगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमले स्थानीय युवामा रक्तदानप्रतिको जागरूकता र सामाजिक उत्तरदायित्वको भावना थप सुदृढ गरेको आयोजकले बताएका छन् ।

रगतदान जीवनदान भएकोले सयौं जीवन बचाउँन र समाजमा मानवीय भावना फैलाउँन यस्ता कार्यक्रमको विशेष अर्थ रहने भन्दै सामाजिक अभियन्ता एवं नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाका सल्लाहकार नवराज काफ्लेले यस्ता कार्यक्रमको निरन्तरताको कामना गरे ।