राष्ट्रवादी छवि बनाएका नेता भीम रावल प्रचण्ड नेतृत्वको नेकपामा समाहित

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चितवन महाधिवेशनमा उम्मेदवारी दिएपछि पार्टीको साधारण सदस्यता समेत खारेज गरिएका पूर्वगृहमन्त्री भीम रावल अब पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा प्रवेश गरेका छन्।

रावलले केही समयदेखि संचालन गर्दै आएको ‘मातृभूमि जागरण अभियान’ बुधबार राजधानीमा आयोजित विशेष समारोहमार्फत प्रचण्ड नेतृत्वको पार्टीमा एकीकृत गरिएको हो। राष्ट्रिय सभागृहमा आयोजित उक्त कार्यक्रममा संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, र नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरू उपस्थित थिए।

एकता घोषणा समारोहमा प्रचण्ड र नेपालले रावललाई माला र खादा अर्पण गर्दै स्वागत गरेका थिए। सो अवसरमा प्रचण्ड र रावलबीच ७ बुँदे सहमति भएको छ, जसमा माधवकुमार नेपालले पनि सह–हस्ताक्षर गरेका छन्। सहमति अनुसार भीम रावल पार्टीमा छैटौं वरीयताका नेताका रूपमा रहने छन्।

सात बुँदे सहमतिका मुख्य बुँदाहरू यसप्रकार छन्–
१. राष्ट्रको सार्वभौमिकता, एकता, स्वाधीनता र आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै विदेशी हस्तक्षेपबाट मुक्त राजनीति र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा केन्द्रित रहने।
२. समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रूपान्तरण तथा समृद्धिको लक्ष्यमा एकताबद्ध रहने।
३. आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने र मिति–स्थान सचिवालयले निर्धारण गर्ने।
४. मातृभूमि जागरण अभियानका संयोजक भीम रावलको भूमिकासहितका जिम्मेवारी आपसी सहमतिबाट तोकिने।
५. पार्टीको विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रमहरू संयुक्त रूपमा तयार गर्ने।
६. पार्टी सञ्चालन लोकतान्त्रिक सिद्धान्त र सामूहिक नेतृत्वको आधारमा हुने।
७. एकीकरणलाई प्रभावकारी बनाउन आवश्यक कार्यदलहरू गठन गर्ने।

पार्टी एकीकरण र सात बुँदे सहमतिको प्रारूप पेरिसडाँडामा सम्पन्न वार्ताबाट तयार गरिएको हो।
यस एकीकरणसँगै भीम रावलले पुनः राष्ट्रिय राजनीतिमा सक्रिय र निर्णायक भूमिकासहित कम्युनिष्ट आन्दोलनको नयाँ अध्यायमा प्रवेश गरेका छन्।