हिमालयन बैंकको मोबाइल सेवा ठप्प : ग्राहकको गुनासो, “खाता बन्द गर्नुपर्ने भयो”

himalayan bank

काठमाडौं। हप्तौं देखि अवरुद्ध हिमालयन बैंक लिमिटेड (HBL) को मोबाइल बैंकिङ् सेवा अझै नखुक्दा सेवाग्राही आजित भएका छन् । सेवामा निरन्तर समस्या भएपछि केही सेवाग्राहीहरुको असन्तुष्टि आक्रोशमा बदलिएको छ । उनीहरूले खाता बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।

तीन हप्तादेखि बैंकको मोबाइल सर्भिस नचल्दा सास्ती खेप्नुपरेको एक सेवाग्राहीले बताए । बैंकको मोबाइल एप तथा इन्टरनेट बैंकिङ् प्लेटफर्मले करिब तीन हप्ता अघि देखिनै स्थिर रूपमा काम गर्न सकेका छैनन्।

सेवाग्राहीहरुले रकम ट्रान्सफर, बिल तिर्ने, र खाता विवरण हेर्ने जस्ता सामान्य सुविधा प्रयोग गर्नसमेत नसकेको बताएका छन्।

लामो समय सम्म सेवा सूचना नहुँदा बैंकको दूर्दिन सुरु भएको त होइन? भन्दै प्रश्न गर्न थालिएको छ ।

कतिपय सेवाग्राहीहरुले “अब त खाता बन्द गर्नुपर्ला जस्तो भयो।” भन्दै बैंकलाई चेतावनी दिइरहेका देखिन्छन् । मोबाइल बैंकिङ् भएर पनि त बैंकमै लाइन लाग्नुपर्ने भएको सेवाग्राही बताउँछन् ।

हिमालयन बैंकले मोबाइल र अनलाइन बैंकिङमा समस्या आएको स्वीकार गरेको छ । बैंकले अनावश्यक लिङ्कमा क्लिक नगर्न पनि आग्रह गरेको छ ।

अहिलेको प्रविधिको युगमा बैंकिङ् अब केवल भवनमा सीमित छैन, मोबाइल नै बैंक बन्न पुगेको अवस्था छ। यस्तोमा प्रविधि असफल हुँदा हिमालयन बैंकको विश्वसनीयता गुम्न सक्ने खतरा बढेको देखिन्छ ।