भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा चित्त नबुझेपछि पुनर्योग गराएका मित्रश्री पाठशालाका अमिर लामाले ४ जिपिए ल्याएका छन् ।
परीक्षाफल प्रकाशित हुँदा जिपिए ३.९५ मै अड्किनुपरेपछि उनले पुनर्योगका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा निवेदन दिएका थिए । पनिकाले पुनर्योग गर्दा उनको जिपिए ४ पुगेको हो ।
नेपालीमा प्राप्त गरेको परीणाम पुनर्योग गर्न अमिरलाई नेपाली शिक्षक नवीन बुढाथोकीले सुझाव दिएपछि उनी पुनर्योगका लागि पनिका पुगेका थिए । पनिकाले नेपाली कापी खोजेर परीक्षकले दिएको अङ्ग जोड्दा उनले सो विषयमा ग्रेड वृद्धि गरे । पुनर्योगको नतिजामा नेपालीमा ए प्लस आएसंगै उनको जिपिए ४ पुगेको विद्यालयका प्रिन्सिपल दीपक बिष्टले बताए । ४ जिपिए पाएपछि आफ्नो र विद्यालयको बिश्वास खेर नगएको अमिरले प्रतिक्रिया दिएका छन् ।
यस वर्ष मित्रश्रीबाट २१ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । विद्यालयले उत्कृष्ट जिपिए सहित सत प्रतिसत नतिजा हासिल गरेको थियो ।
चाँगुनारायण-२ दुवाकोटमा १२ वर्षदेखि सेवा पुर्याइरहेको यो विद्यालय नगरको उत्कृष्ट विद्यालय मध्ये पर्दछ । बालबिकासदेखि कक्षा १० सम्म रहेको मित्रश्रीमा पाँच सय बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।







