
भक्तपुर । सूर्यविनायक–९ स्थित मदरल्याण्ड स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको छ।
विद्यालयले एसईईमा ४ जिपिए प्राप्त गर्न सफल छात्रा रोहिणी शिल्पकारलाई नगद पुरस्कारसहित सम्मान गरेको हो।
विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षा शाखा प्रमुख रत्नबहादुर कटवालले रोहिणीलाई सम्मानपत्र प्रदान गरेका थिए।
विद्यालयकी कार्यकारी निर्देशक शर्मिला देउजाले रोहिणीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिन्। साथै, उत्कृष्ट नतिजा हासिल गर्ने अर्की छात्रा सरिना लामालाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
त्यसैगरी,पुस्तक तथा स्तेसनरी ब्यवसायी संघ भक्तपुरका उपाध्यक्ष एवं सत्यशक्ति पुस्तक भण्डारका सञ्चालक महेश थापा र विद्यालयका सह–प्राचार्य राधेश्याम केसीले पनि रोहिणी शिल्पकारलाई नगद पुरस्कारबाट प्रोत्साहित गरे । यससँगै रोहिणीले विभिन्न व्यक्तित्व तथा संस्थागत कुल ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सञ्जय खड्काले विद्यार्थीको सफलतामा विद्यार्थीको मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको जिम्मेवारीको महत्वपूर्ण संयोजन रहेको बताए। उनले विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। खड्का एन प्याब्सन भक्तपुरका अध्यक्ष समेत हुन् ।
सो अवसरमा एसईई उत्तीर्ण सबै विद्यार्थीलाई सम्मान तथा बिदाइ गरिएको थियो। साथै, विद्यार्थीको शैक्षिक सफलतामा योगदान पुर्याउने शिक्षकहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले यस वर्षको एसईई नतिजालाई गौरवपूर्ण उपलब्धिका रूपमा लिँदै आगामी दिनमा विद्यार्थीको क्षमता विकास, सिर्जनशीलता र शैक्षिक उत्कृष्टतालाई थप प्राथमिकता दिने प्रतिवद्धता प्रकट गरेको छ । मदरल्याण्ड स्कुल सूर्यविनायक नगरपालिकाको क श्रेणीमा रहेको विद्यालय हो । यहाँ मन्टेश्वरी देखि कक्षा १० सम्मा करिब ७ सय विद्यार्थी रहेका छन् ।







