१० अर्ब आन्तरिक ऋण उठाउन ऋणपत्र जारी गर्दै सरकार

काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको  छ । परिपक्व अवधि १५ वर्ष रहेको सो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०९८’ नाम दिइएको छ ।

ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले जेठ २७ गते अपरान्ह ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । २७ गते बोलकबाले हुने उक्त ऋणपत्र जेठ २८ बिहीबार निष्कासन हुनेछ । बोलकबोल अनलाइन प्रणालीमार्फत पेस गर्नुपर्नेछ ।

ऋणपत्रको सावाँ भुक्तानी २०९८ जेठ २८ गते हुने छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ । त्यस्तो ब्याजमा आयकर लाग्नेछ ।

यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन र दिन सकिने व्यवस्था छ ।
अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ। अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी बोल प्राप्त भएमा बोलवालालाई समानुपातिक रूपमा ऋणपत्र बाँडफाँट गरिनेछ।

ऋणपत्रमा न्यूनतम ५ लाख रुपैयाँ र अधिकतम कुल निष्कासित रकमको सीमाभित्र नबढाई ५ लाखले भाग गर्दा निशेषमा भाग जाने अंकमा मात्र बोलकबोल पेस गर्नुपर्नेछ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन सक्नेछन्। राष्ट्र बैंकबाट इजाजत पत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले भने अप्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन्।