क्रिटिक्स फिल्म अवार्डमा भूठानको वर्चस्व

काठमाडौं । चलचित्र समीक्षक समाज, नेपालले सार्वजनिक गरेको ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजामा भूठानले वर्चस्व बनाएको छ । चलचित्र भूठानले तीन प्रमुख विधामा उत्कृष्ट नतिजा निकालेको हो ।

समीक्षक समाजका अध्यक्ष सामिप्यराज तिमल्सिनाले जनाए अनुसार  ‘भूठान’ बाट हरिवंश आचार्य उत्कृष्ट अभिनेता, सुशन प्रजापति उत्कृष्ट दृश्य संयोजक तथा अञ्जय खड्का उत्कृष्ट सम्पादक घोषित भएका छन्।

यससँगै ‘भूठान’ अवार्डमा सर्वाधिक तीन विधा जित्ने चलचित्र बनेको छ।

भूठानले तीन विधामा अवार्ड पाउने समीक्षक समाजको घोषणाले आफूहरूलाई सन्तोष मिलेको निर्माता अवीरल थापाले बताएका छन् ।

भूठान तीन विधामा उत्कृष्ट भएपनि उत्कृष्ट चलचित्रको अवार्ड भने ‘ऊनको स्वीटर’ ले जितेको छ। सोही चलचित्रका नविन चौहान उत्कृष्ट निर्देशक घोषित भएका छन्। उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘रमिताको पिरती’ बाट आना शर्माले प्राप्त गरेकी छन्।

चलचित्र समीक्षक समाजले अवार्ड वितरण समारोहको मिति र स्थान भने पछि सार्वजनिक गर्ने बताएको छ। अवार्डले चलचित्रको ब्यवसायिकता अभिबृद्धिमा योगदान पुग्ने आयोजकले बिश्वास ब्यक्त गरेको छ । कूल ८ विधामा अवार्ड घोषणा गरिएको छ ।