महावीर पुन पुनः मन्त्री बन्ने

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पुनः मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्।

प्रधानमन्त्री सचिवालय श्रोतले पुन मन्त्री बन्न लागेको पुष्टि गरेका छन्। श्रोतका अनुसार पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

पुन यसअघि सुशिला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षामन्त्रीका रूपमा कार्यरत थिए। त्यसपछि उनले मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

प्रतिनिधिसभा निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुनलाई समर्थन गरेको थियो। सूचना प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका पुनको मन्त्री नियुक्तिलाई सरकारले प्रविधिमैत्री नीतिलाई थप गति दिने प्रयासका रूपमा बताइएको छ ।