गोल्डेन सुनगाभाका सुप्रोल श्रेष्ठले ल्याए ४ जीपीए

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयका विद्यार्थी सुप्रोल श्रेष्ठले ४.०० जीपीए ल्याउँदै पूर्ण जीपीए प्राप्त गर्ने कीर्तिमान बनाएका छन्।

विद्यालयबाट एसईईमा सहभागी ४६ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन्। शतप्रतिशत नतिजासहित विद्यालयले यस वर्ष पनि उत्कृष्ट नतिजालाई निरन्तरता दिएको छ।

नतिजाअनुसार १ जनाले ४.०० जीपीए, १७ जनाले ३.६० देखि ४.०० जीपीए, २६ जनाले ३.२० देखि ३.६० जीपीए तथा २ जनाले २.८० देखि ३.२० जीपीए हासिल गरेका छन्। 

विद्यालयका प्रधानाध्यापक महेशचन्द्र गौतमका अनुसार यो सफलता विद्यार्थीको निरन्तर मेहनत, अनुशासन र शिक्षकको योजनाबद्ध शैक्षिक मार्गदर्शनको प्रतिफल हो। आगामी दिनमा व्यवहारिक शिक्षासहित गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी बनाउँदै लैजाने विद्यालयको प्रतिबद्धता रहेको उनले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलानाथ निरौलाले लगातारको शतप्रतिशत नतिजाले अभिभावक र समुदायको विश्वास अझ मजबुत बनेको बताए। विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर विद्यालय अघि बढिरहेको र आगामी वर्षमा अझ उत्कृष्ट परिणाम हासिल गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

विद्यालय प्रशासनले यो सफलतालाई विद्यार्थीको अथक मेहनत, अभिभावकको साथ र शिक्षकको समर्पित मार्गदर्शनको संयुक्त उपलब्धिका रूपमा व्याख्या गरेको छ।