४२ करोड थान नोट छपाइका लागि चिनियाँ कम्पनीसँग सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइ र आपूर्तिका लागि चिनियाँ कम्पनी ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको छ।

बैंकले २०८२ साउन ९ गते जारी गरेको बोलपत्र सूचनाका आधारमा छपाइ कार्यका लागि आवेदन दिएका कम्पनीहरूमध्ये न्यून मूल्य प्रस्ताव गर्ने उक्त कम्पनी छनोट भएको हो। केन्द्रीय बैंकले तोकेको पूर्वयोग्यता पूरा गरेका छवटा कम्पनी प्रतिस्पर्धामा सहभागी भएका थिए।

राष्ट्र बैंकका अनुसार उक्त चिनियाँ कम्पनीसँग कुल १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलर, हालको विनिमय दर अनुसार करिब १ अर्ब ४८ करोड रुपैयाँ मा सम्झौता भएको हो। सम्झौता अनुसार उक्त कम्पनीले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छापेर नेपालमा आपूर्ति गर्नेछ।

नेपाल राष्ट्र बैंकका अनुसार नोट छपाइ कार्यका लागि गुणस्तर, सुरक्षा मापदण्ड र आपूर्तिको समयसीमालाई प्राथमिकतामा राखिएको छ। राष्ट्र बैंकले आवश्यक कागजी नोटको सुरक्षित आपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरका छपाइ कम्पनीहरूसँग नियमित रूपमा सहकार्य गर्दै आएको जनाएको छ ।