भक्तपुर । भक्तपुरमा चोरीको मोटरसाईकल सहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मध्यपुर थिमि-८ का २७ वर्षिय गुर्जु भन्ने निरोज बज्राचार्य रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डिएसपी ढुण्डीराज नेउपानेले बताए ।
शुक्रवार दिउँसो साढे ३ बजेको समयमा प्रहरी प्रभाग दधिकोटबाट चेकीङमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गाम्चाबाट सो मोटरसाइकल र चालक बज्राचार्यलाई नियन्त्रणमा लिएको डिएसपी नेउपानेले जानकारी दिए ।
निरोज बज्राचार्यले चलाई ल्याएको बागमती प्रदेश ०२-०२० प ३९५५ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा उक्त सवारीसाधन चोरीको भन्ने शंका लागि बुझ्दा गत २ जेठमा दिउँसै काठमाडौँ महानगरपालिका-९ सिनामंगल स्थितबाट चोरी भएको भनी खुल्न आएको प्रहरी बृत्त थिमिका प्रमुख रहेका डिएसपी नवराज ढुङ्गानाले बताए ।
पक्राउ परेका गुर्जु भन्ने निरोज बज्राचार्यलाई कानुन बमोजिम पक्राउ गरी बरामद दसी प्रमाण सहित आवश्यक कार्बाहीको लागी चोरी भएको क्षेत्र प्रहरी वृत्त गौशाला काठमाडौ पठाईएको पनि डिएसपी ढुङ्गानाको भनाइ छ ।
सोमबार पनि थिमि बृत्तले मध्यपुर थिमि क्षेत्रबाटै हराएका दुई स्कुटर दुई दिनमै फेला पार्नुका साथै सो चोरीमा संलग्न रहेको आरोपमा एक दर्जन मानिसलाई पक्राउ गर्न सफल भएको थियो ।
भक्तपुर प्रहरी प्रमुख रहेका एसपी माधव बुढाथोकीले दुई पाङ्ग्रे सवारी साधनको चोरी नियन्त्रणमा प्रहरीले चनाखो भइ कार्वाही गरिरहेको बताएका छन् । नियमित चेकजाँच बढाइएको र शंका लागेका सवारीलाई जुनसुकै बेला रोकेर कागजात माग्ने कार्यलाई प्राथमिकता दिइएको उनले बताए ।