
काठमाडौं । विजयादशमीका दिन मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा प्राचीन कालदेखि निरन्तर चल्दै आएको छ। देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा दशैं मनाइँदै आएको र सोही दिन देवीको प्रसादस्वरूप दही, चामल र अबिर मिसाएर टीका लगाउने चलन सुरु भएको विश्वास गरिन्छ।
धार्मिक विश्वासअनुसार टीका र जमरा आशीर्वाद, विजय, समृद्धि र एकताको प्रतीक हुन्। रातो अबिरले शक्ति र साहसलाई जनाउँछ भने दही पवित्रता र शीतलताको प्रतीक हो। चामलले स्थिरता र धान्यसमृद्धिको संकेत गर्दछ। दशैंमा जमरा टीकासँगै अर्पण गर्ने परम्परा छ, जसलाई जीवनशक्ति र समृद्धिको प्रतिकका रूपमा लिइन्छ।
घरका ज्येष्ठ सदस्यले टीका र जमरा लगाइदिँदै सन्तान तथा परिवारजनलाई दीर्घायु, सफलता र समृद्धिको आशीर्वाद दिने गरिन्छ। यसले मात्र धार्मिक पक्षलाई होइन, सामाजिक र सांस्कृतिक पक्षलाई पनि जोड्ने कार्य गरेको छ।
इतिहासविद्हरूका अनुसार टीका लगाउने चलन किराँतकालदेखि लिच्छवि र मल्लकाल हुँदै वर्तमानसम्म निरन्तर रूपमा जीवित रहँदै आएको छ। विजयादशमीको टीकालाई सत्य, धर्म र सद्भावको विजयको प्रतीकका रूपमा समेत लिइन्छ।
परिवार, आफन्त र मान्यजनबाट टीका लगाउने चलनले समाजमा आपसी प्रेम, एकता र मेलमिलापको सन्देश फैलाउन सहयोग पुर्याइरहेको समाजशास्त्रीय मान्यता रहेको छ।







